सरकार यता ध्यान अाअाेस् : सात घन्टा हिँडेर विद्यालय जान बाध्य

तनहुँ, ३१ असार । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।

अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा र घर फर्किंदा चार घन्टा लाग्ने गरेको छ । कक्षा १० मा अध्ययनरत बबिसरा थापाले विद्यालय जान बिहान सबेरै हिँड्नुपर्ने र घर पुग्दा रात पर्ने गरेको बताइन् । थापा भन्छिन्, ‘भात खाएर सुत्नका लागि मात्र घर आउजाउ गर्नुपरेको छ, आमाबाबाले घरको काम सघाइदिन्छिन् कि आस गर्नुहुन्छ, तर सघाउन पाएको छैन ।’

टाढाको विद्यालय पुग्नुपर्दा विद्यार्थीलाई सास्ती भएको छ । टाढा भएका कारण विद्यालय पुग्न ढिला हुँदा शिक्षकको गाली सहनुपर्र्ने विद्यार्थी बताउँछन् । कक्षा ९ मा अध्ययनरत उषा थापाले भनिन्, ‘४ बजे बिदा हुन्छ, घरमा आइपुग्दा ७ बज्छ, जंगलको बाटो आउँदा डर लाग्छ, घरमा पुग्दा कहिलेकाहीँ त सुत्ने वेला हुन्छ ।’ झरी पर्दासमेत विद्यालय जान कठिन रहेको विद्यार्थीको दुखेसो छ । गाउँपालिकाको ३ नं. वडामा एउटा पनि मावि नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको हो ।

भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमनारायण चालिसेले वडा नम्बर ३ बाट ३५ भन्दा बढी विद्यार्थी तीन घन्टा हिँडेर आउने गरेको बताए । गाउँमा एउटा मावि भएमा विद्यार्थीलाई सहज हुने उनले बताए ।

जाडो मौसममा दिन छोटो हुने भएकाले विद्यार्थीले टर्च बोकेर विद्यालय जाने गरेका छन् । घर फर्किंदा अँध्यारो हुने भएकाले टर्च बोकेर विद्यालय जाने गरेका हुन् । जंगलको बाटो भएकाले उनीहरू सबै समूहमा नै घर फर्कने गरेका छन् ।

Loading...