बिदेशबाट फर्किदै गरेका पूर्वप्रधानमन्त्री छोरीसहित विमानस्थलबाटै पक्राउ, यस्तो छ अभियोग

एजेन्सी ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।

आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् ।

उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्‍याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा लैजान लागिएको भए पनि सरिफ नमानेपछि विमानमार्फत् रावलपिन्डिको अडियाला जेलमा पुर्‍याइएको हो ।

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए । शरिफलाई तत्काल अडियाला जेलमै राखिने भएको छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामावादस्थित प्रहरी प्रतिष्ठान लगिने भएको छ

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए ।

उनले सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै यसले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दाबीसमेत गरे । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो ।

अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा पुगेका थिए । पाकिस्तानमा यही जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ ।

२०७५ असार ३० मा प्रकाशित ।

Loading...