दुईबुँदे सहमतिपछि गंगामाया अधिकारीले अनशन तोडिन

काठमाडौं ।

आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् ।सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् ।

गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुईबुँदे पत्र गंगामायालाई दिइएको थियो ।

जसमा २०७१ असोज ३१ गते सरकारले गंगामायासँग गरेको पाँचबुँदे लिखित सहमति कार्यान्वयन गर्ने र कार्यान्वयन भए/नभएको अनुगमन गर्न सरकारका प्रतिनिधि र गंगामाया अधिकारीले छानेका व्यक्तिहरु सम्मिलित समिति गठन गर्ने प्रतिबद्धता जनाइएको छ ।

अनशन तोडेपछि गंगामायाले आफूले अहिलेका लागि अनशन स्थगित गरेको भन्दै सरकारले प्रतिबद्धता पूरा नगरे पुनः अनशन बस्ने चेतावनी दिइन ।

२०७५ असार ३० मा प्रकाशित ।

Loading...