हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन

 काठमाडौं ।

पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो ।

त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । यसअघि उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अपरान्ह प्रधानमन्त्री ओली गंगालाल समेत पुगेका थिए । तर प्रधानमन्त्री फर्केको केही समय पछि नै चिकित्सकरुले उनको आलमको मृत्यु भएको घोषणा गरेका थिए ।

आलम केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म स्वास्थ्य राज्यमन्त्री बनेका थिए । त्यतिवेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।

गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम नेकपा प्रवेश गरे । उनी रौतहट क्षेत्रनम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडेका थिए तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

हेर्नुहोस् बक्तब्य

२०७५ असार ३० मा प्रकाशित ।

Loading...