फुटबललार्इ लिएर तारे होटेलमा उच्च नेताहरुबीच झन्डै हातहालाहाल, यस्तो आरोपप्रत्यारोप

काठमाडौं । राजधानीकाे रविभवन नजिक एक पाँच तारे हाेटेल छ । जुन हाेटेल उच्च तहका विदेशी पाहुना नेपाल भ्रमणमा अाउदा समेत प्रयाेग गर्ने गरिएकाे छ । त्यही हाेटलमा मंगलबार लाजमर्दाे दृष्य देखियाे । कुरा हाे पाँच तारे हाेटेल साेल्टीकाे । त्यहाँ एक विवाह भाेज अायाेजना गरिएकाे थियाे । भाेजका लागि सबै राजनीतिक दलका उच्च तहका नेता, वरिष्ठ प्रशासनिक अधिकारी तथा कानुन व्यवसायीदेखि धेरैकाे उपस्थिति रहेकाे थियाे ।

साेही भाेजमा उच्च तहका नेताहरुबीच झन्डै हातहालाहाल भयाे । भाेज चल्दै थियाे । सहभागीहरु अापसमा कुराकानी गर्न व्यस्त देखिन्थे । त्यही बेला एक कुनामा पूर्व सांसदहरुकाे एउटा टाेलीबीच एकाएक खैलाबैला मच्चियाे । चर्काचर्कीमा थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा पूर्वसांसद गणेश थापा र कांग्रेसका पूर्व सांसद रामहरी खतिवडा । साथै उनीहरुसँगकाे टाेली पनि त्यही चर्काचर्कीमा मिसिएकाे थियाे ।

एन्फा नेतृत्वमा २० वर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापा कांग्रेस नेता रामहरि खतिवडामाथि हावी भइरहेकाे देखिन्थ्याे । थापाले चर्काे स्वरमा हप्काउँदै खतिवडालार्इ देखाइदिने धम्की पनि दिँदै थिए ।

खतिवडा अघिल्लो संसद्को सार्वजनिक लेखा समितिका सदस्य थिए। अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको थियो। अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए। आफूलाई कारबाही गर्न खतिवडाले भूमिका खेलेकाे भन्दै थापा उनी प्रति अाक्राेशित थिए ।

एन्फाका तत्कालीन अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्षसम्म फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको छ। चार वर्ष लामो छानबिनपछि व्यक्तिगत लाभका लागि भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै फिफाले उनलाई २१ लाख रुपैयाँ जरिबानासहित १० वर्षसम्म फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको थियो।

स्राेतका अनुसार दुबै जना मदिराकाे हल्का मातमा थिए । थापाले एन्फामा रहेका सबै व्यक्तिले आफूसँग माफी मागिसकेको बताउँदै खतिवडालाई पनि माफी माग्न दबाब दिइरहेका थिए।

‘फिफाको निलम्बन म आफैं मिलाउँथें, लेखा समितिबाट मलाई किन कारबाही गर्ने निर्णय गरेको? तपाईंले पनि मसँग माफी माग्नुपर्छ’ भन्दै थापा खतिवडातर्फ लम्किए ।

उता खतिवडा भन्दै थिए ‘तपार्इलार्इ समितिमा परेको उजुरी र प्राप्त कागजपत्रअनुसार कारबाही गरिएकाे हाे । अनि मैले किन माफी माग्ने ?’ स्थिति तनावपूर्ण भएपछि धेरै नेताहरु झगडा मिलाउन अाइपुग्दै थिए । तर, कसैकाे केही लागेन । त्यसपछि भोजमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले थापालाई सम्हाले । 

तत्कालीन लेखा समितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो। तर अख्तियारले यस्तो प्रमाणित घटनामा संलग्न व्यक्तिको मुद्दालाई अगाडि नबढाई तामेलीमा राखेको छ।

त्यसअघि पनि थापालाई फिफाले पटकपटक गरी सात महिना निलम्बन गरेको थियो। थापाका छोराले एसियाली फुटबल महासंघमा कार्यरत कतार फुटबलका अध्यक्ष हमामको कम्पनीबाट एक लाख अमेरिकी डलर लिएको आरोप फिफाले लगाएको थियो। थापाले भ्रष्टाचार गरेको भन्दै सर्वत्र आलोचना भएपछि उनले उक्त रकम व्यक्तिगत प्रयोजनका लागि सापटी लिएको भन्दै फिर्ता गरेका थिए।

फिफाले अध्यक्ष थापामाथि सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवारिक लाभका लागि रकम लिएर भ्रष्टाचार गरेको लगायतका आरोप लगाएको थियो। दुई वर्षअघि पाँच नेपाली फुटबल खेलाडीहरू ‘म्याच फिक्सिङ’ को आरोपमा पक्राउ परेपछि थापालाई भ्रष्टाचार आरोपमा फिफाले कारबाही गरेको थियो।

Loading...