होसमा रहेसम्म जुम्लामै अनसन बस्ने केसीको अडान

जुम्ला, २८ असार । जुम्लामा अनसन बसेका डा. गाेविन्द केसीले अाफू हाेसमा रहँदासम्म जुम्लामै अनसन बस्ने बताएका छन् । केसीलार्इ लिन सरकारले काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकाेप्टरसहितकाे टिम जुम्ला पठाउन लागेकाे कुरा सुनेपछि डा. केसीले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

केसीले अाफ्ना माग पूरा नभएसम्म काठमाडौ नफर्किने बताए । उनले भनेका छन, “म होसमा हुन्जेलसम्म र माग सम्बोधन नभएसम्म प्रधानमन्त्रीको आह्वानमा पनि जान्न ।”

साथै केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताए । उनले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पारे ।

१२ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । निमोनिया, मस्तिष्क घात, हृदयाघात र हृदयको गति बन्द हुने चार खतरा डा. केसीलाई रहेको उपचारमा संग्लन डा. प्रविणकुमार गिरीले बताए । रगतमा म्याग्नेसियमको मात्रा पूरै घटिसकेको छ शरीरका विभिन्न कोषहरू सुक्खा भइसकेका छन् ।

छातीको बीच भागमा अत्यधिक दुखाइ, कमजोरीका कारण चक्कर लाग्ने, शरिरका मांसपेशी बाउँडिने, पिसाबमा किटोन बढी, सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै गएको, रगतमा चिनीको मात्रा कम हुँदै गएको र मुटुको चाल तलमाथि रहेको स्वास्थ्य प्रतिवेदनले देखाएको मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

पछिल्लो अवस्थामा डा. केसीलाई संक्रमणको खतरा बढेको चिकित्सकहरूले बताएका छन् । रोगसँग लड्ने क्षामता आवश्यकता भन्दा पनि कम भएकाले उनलाई संक्रमणको जोखिम बढेको हो । केसीले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ । डा. धिरज गुरुङले भने, “संक्रमणको खतरा बढ्दै गएपछि इन्फेक्सन हुने डरले भेटघाटमा पूरै कडाइ गरेका छौं ।”

अनशनरत डा. केसीको अभियानलाई समर्थन जनाउँदै नागरिक समाजदेखि नेपाली कांग्रेस, साझा विवेकशिल पार्टीले विरोध ¥याली गरेका छन् । त्यसैगरी महिलाहरूले पनि केसीको जीवनरक्षाको माग गर्दै ¥याली निकालेका छन् ।

प्रशासनले प्रतिष्ठान, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निषेधित क्षेत्र घोषणा गरेदेखि उक्त क्षेत्र आसपास बाक्लो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गर्दै आएको छ । सरकार कठोर बन्दै गए केसीको जीवन रक्षाका लागि निषेधित क्षेत्र तोड्न पनि पछि नपर्ने नागरिक समाजका संयोजक राज बहादुर महतले बताए ।

Loading...