भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भट्टका अनुसार राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।

गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ ।

भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । पसल र व्यवसाय सबै बन्द भएका छन् । डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय बासिन्दा अमर थापाले बताए ।

Loading...