सुनतस्करीमा पत्रकारको पनि सम्लग्नता भेटियो, एक पत्रकार पक्राउ, को को छन निगरानीमा

काठमाडाैं, २७ असार । सुन तस्करीमा काे काे सम्लग्न छन भन्ने रहस्यकाे पर्दा झन झन खुल्दै गएकाे छ । राजनीतिक दलका उच्च नेताहरुदेखि , सुरक्षा निकायका उच्च अधिकारीहरु, व्यवसायीहरु धेरैकाे तस्करीमा सम्लग्नताकाे अाशङ्का गरिएकाे छ । यसैक्रममा सुनतस्करीमा पत्रकारकाे समेत सम्लगन्ता रहेकाे खुलेकाे छ । एक पत्रकार तस्करीकै अाराेपमा पक्राउ समेत परेपछि उक्त अाशंका झन बढेकाे छ ।

सुन तस्करीको अनुसन्धानमा एक जना पत्रकारसहित ३ पक्राउ परेका छन्। ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

प्रहरीले असार १६ मा नागढुङगाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि बुधबार केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो।

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले ३ किलो सुनसहित पक्राउ परेका भारतीय आरोपीलाई नख्खु र सुन्धारा कारागारमा भेटन गएपछि अधिकारी अनुसन्धानको दायरामा आएको बताए। उनका अनुसार कारागारमा भेटघाटमा लागि गएका अधिकारी सुन ओसार पसार गर्ने कार्यमा सक्रिय रहेको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको हो।

राजस्व अनुसन्धान विभागले ४ जनालाई नख्खु कारागार र महिलालाई केन्द्रीय महिला कारागारमा बन्दी बनाएको थियो।

‘नागढुङगाबाट बरामद सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकको परिचयपत्र बोकेका एक जनासहित ३ जनाविरुद्ध अनुसन्धान भइरहेको छ। घटना सोचेभन्दा फरक र गम्भीर छ। हामी काम गरिरहेका छौं,’ संयोजक पौडेलले बुधबार नेपालखबरसँग भने।

हिन्दूका प्रकाशक पवन थापा कुन्तलले अाफ्नाे पत्रिकाका तर्फबाट गणेशप्रसाद अधिकारी नाम गरेका कुनै व्यक्तिलार्इ सूचना विभागकाे प्रेस पासका लागि सिफारिश नभएकाे दाबी गरे।

अनुसन्धान टोलीले सोही घटनामा संलग्न रहेको आरोपमा दिनेश घिमिरे र दीपक श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो। वृत्त कमलपोखरीको हिरासतमा रहेका घिमिरेविरुद्ध सार्वजनिक अपराधमा बुधबार र वृत्त सिंहदरबारको हिरासतमा रहेका दीपक श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको हो।

सुन तस्करीको अनुसन्धानले तीब्रता पाएको बेला असार १६ मा भारततर्फ लैजादै गरेको तीन किलो ‘इमिरेटस गोल्ड’सहित प्रहरीले नागढुङगा नाकाबाट पाँच जनालाई पक्राउ गरेको थियो।

सम्बन्धित खबर: सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

सरकारले २०७५ चैत २० मा गृहका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय अनुसन्धान समितीलाई हवाईमार्ग भएर हुने सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानको जिम्मेबारी दिइएको छ। प्रहरीले बरामद गरेको सुन हवाईमार्गबाट तस्करी भएको आशंकापछि समितिले काठमाडौं प्रहरीसँग आवश्यक विवरण मगाएर अनुसन्धान गरिरहेको छ।

अनुसन्धान टोलीले छानबिनमा तानिएर फरार भएका एकजना आरोपीको कारोबार सिलबन्दी गरेको छ। अनुसन्धानका लागि समितिको कार्यालयमा बोलाएका लाजिम्पाटस्थित एबल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजका सञ्चालक ठाकुरप्रसाद ढुंगाना फरार भएका छन्।

टोलीले केही दिनअघि बोलाएर बयान दिएका ढुंगानालाई साधारण तारेखमा राखेयता उनी सम्पर्कविहिन भएपछि उनको कारोबार बन्दगर्ने तयारी भएको हो। टोलीले अदालतको आदेश लिएर ट्राभल्सको कार्यालयमा सिलबन्दी गरेको हो।

Loading...