मोहना नदीमा डुल्दै गरेको भेटियो डल्फिन

काठमाडाैं, २६ असार । वर्षा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ ।

हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् ।

‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ स्थानीय भोजराज ढुंगानाले भने, ‘त्यसका लागि सडक स्तरोन्नति हुनुपर्छ ।’ जिल्ला समन्वय समितिले २०७५ लाई ‘कैलाली भम्रण वर्ष’ का रूपमा मनाउँदै छ । डल्फिनलाई भम्रण वर्षको लोगो बनाइएको छ ।

यहाँसम्म पुग्ने सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा भने स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान पुग्न नसकेको ढुंगानाले बताए । ‘भजनी र टीकापुर नगरपालिकाले हुलाकीदेखि मोहनासम्मको २ किलोमिटरमा पक्की सडक निर्माण गर्न सक्छ, धेरै बजेट पनि लाग्दैन । तर ध्यानै दिएको देखिएन,’ उनले भने ।

ढुंगानाले डल्फिन संरक्षण क्षेत्र घोषणा गरी पर्यटकीय पूर्वाधारमा लगानी गरिनुपर्ने बताए । यहा पर्यटक सुबिधालाई मध्यनजर गरी होमस्टेको व्यवस्था गर्न सकिने सम्भावना छ। वर्षातमा कर्णालीमा पानीको सतह बढेसँगै मोहना नदी प्रणालीमा डल्फिन देखापर्छन् ।

Loading...