दुर्इहप्तादेखि गुफामा थुनिएका १२ जना बालकले पठाए एक लिखित सन्देश

एजेन्सी । उत्तरी थाइल्याण्डको एक गुफामा दुई हप्ता देखि फसेका १२ जना बालकहरुले आफ्नो परिवारको लागि पहिलो पटक सन्देश पठाएका छन् । उनीहरुसँगै फसेका एक फुटबल प्रशिक्षक र बालकहरुले हस्तलिखित चिठी परिवारलाई पठाएका हुन् । चिठी मार्फत केहीले भनेका छन् – ‘चिन्ता नगर्नुस्, हामी बहादुर छौँ ।’ केहीले भने आफूहरुलाई मन पर्ने खाने कुरा पठाउन आग्रह गरेका छन् ।

त्यस्तै उनीहरुले पठाएको चिठीमा स्कुलका शिक्षकहरुलाई धेरै गृहकार्य नदिन पनि आग्रह गरिएको छ । शनिबार बिहान थाइल्याण्ड सेनाको गोताखोरका एक सदस्यले गुफाबाट बालकहरु र प्रशिक्षद्वारा लिखित सन्देश लिएर फर्किएका थिए ।

२५ वर्षीय प्रशिक्षक इक्कापोल चान्तावाङले पठाएको सन्देशमा भनिएको छ –‘जे भयो त्यसको लागि म क्षमा प्रार्थी छु, सबै परिवारले मलाई माफ गर्दिनोस् । सबै बच्चा सुरक्षित छन्, उद्धारमा खटिएका सदस्यहरुले हाम्रो निकै ख्याल गरिराखेका छन् । बच्चाहरुको सुरक्षाको लागि म जेसुकै गर्न पनि तयार छु ।’

गत २३ जुनको दिन साँझ फुटबल अभ्यास गरेपछि उत्तरी थाइल्याण्डको एक गुफा हेर्न भनेर गएका उनीहरु बाढीको पानीका कारण गुफाभित्रै थुनिएका थिए । उनीहरुको सहजताको लागि गुफा भित्र अक्सिजनको पाइप बिछ्याइएको छ भने खाना, पानी र औषधिहरु उद्धार टोली मार्फत पठाइएको बीबीसीले जनाएको छ ।

यस अघि उद्धारमा खटिएका समन कुनन नाम गरेका थाइल्याण्डका पूर्व सैनिकको मृत्यु भएको थियो । गुफामा फसेकाहरुलाई राहत सामग्री दिएर फर्किने क्रममा अक्सिजनको कमीले कुननको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गुफामा फसेकाहरुको उद्धारमा एक हजार भन्दा बढी मानिस खटिएका छन् । जसमा गोताखोर, सैनिक र आमा मानिस रहेका छन् ।

Loading...