पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै दन्काइदिए चुरोट

काठमाडौं । 

विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् । 

सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै बुधबार भैरहवा आइपुगेका हुन् ।

अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा प-यो । झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा उनले तीनपटक धुम्रपान गरे ।

अभियानका सन्दर्भमा बोल्दै पूर्वयुवराजले राज्यका प्रत्येक क्षेत्र, समुदाय, वंशहरूलाई राष्ट्र चाहिएको बताए । ‘राजसंस्था हुँदा होस् वा अहिले जब देशमा संकट आउँछ त्यसको चिन्ता राजसंस्थालाई हुन्छ,’ उनले भने, ‘राजा हुनु–नहुनुभन्दा पनि मुलुक रहनुपर्छ र राष्ट्रियताको रक्षा हुनुपर्छ । यही विषयमा हाम्रो चिन्ता छ ।’ उनले नेपालमा राष्ट्र हित र जनहितमा काम गर्ने जनप्रेमी शासकको खाँचो रहेको बताए ।

राजसस्ंथा विस्थापित भएकाले गाई र राष्ट्रको रक्षा हुन नसकेको उनले बताए । गाई–गोरुको रक्षा र समग्र देशको संरक्षणका लागि एकजुट हुन सबैलाई आग्रह गरे । 

छिमेकी मुलुकको हस्तक्षेप, नेपाली युवाको विदेश पलायनलगायतका कारणले मुलुक दिनानुदिन संकटमा परेको उनले बताए । मुलुकको दीर्घकालीन निकासका लागि अभियानमा लागेको उनको भनाइ छ । 

कार्यक्रममा योगी व्यग्र वेदनाथ (प्रवञ्जनबहादुर सिंह)लगायतका गेरु वस्त्रधारी योगीहरूको उपस्थिति थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Loading...