तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु

काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा दर्जन तिर्थयात्रुको मृत्यु पनि भएको छ ।

यसैबीच सरकारले कैलाश जान लागेका यात्रुहरुलाई उद्धार गरेको जनाएको छ । पर्यटन मन्त्रालयले मंगलबार हुम्लामा हवाई उडानको सङ्ख्या बढाएको र हेलिकोप्टरहरु पनि परिचालन गरिएको जनाएको छ । पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार २५० जना तिर्थयात्रीलाई उद्धार गरिएको छ ।

त्यसैगरी नेपालस्थित भारतीय दुतावासले पनि आफ्ना नागरिकको उद्धार कार्य सुरु गरेको जनाएको छ । पछिल्लो जानकारी अनुसार दुतावासले १०४ जना भारतीय नागरिकको उद्धार गरिएको छ । त्यसमध्ये अधिकांश भारतीयहरु चिनको कैलाश मानसरोवर दर्शन गर्न गएका थिए । तर, मौसममा एकाएक बदलाव आएपछि उनीहरु उतै अलपत्र परेका थिए । अलपत्र परेका यात्रीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पनि परिचालन गरिएको छ ।

हुम्ला र तिब्बततर्फ परेको अविरल वर्षाका कारण भारतीय पर्यटक अलपत्र परेको जनाइएको छ । केहीको कैलाश मानसरोवरबाट फर्किने क्रममा हुम्लाको सिमकोट र केहीको तिब्बततर्फनै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमध्ये लिला नारायणनन मन्द्रेदथ र सत्यलक्ष्मी नारायणनन सुब्बा राओ ग्रान्धी भिरा भेङ्कटालाई हेलिकप्टरको माध्यमबाट क्रमशः काठमाडौँ र नेपालगञ्ज पु¥याइएको छ । लिलाको मृत्यु सिमिकोटमा र सत्यलक्ष्मीको हृदयघातका कारण तिब्बतमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ । प्रहरीले मृत्यु हुने अन्यको विवरण संकलन भइरहेको जनाएको हुम्लाबाट हाम्रा सहकर्मी अर्जुन बोहोराले ननस्टपखबरलाई जानकारी दिएका छन् । 

भारतीय दूतावासले दिएको जानकारी अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा मात्र ५ सय २५ जना भारतीय तिर्थालुहरु अलपत्र परेका छन् । त्यसैगरी हुम्ला र चिनको सिमाना हिल्सा क्षेत्रमा ५ सय ५० जना र ५ सय जना तिर्थालुहरु तिब्बत क्षेत्रमा अलपत्र परेको बताइएको छ ।

त्यसमध्ये भारतीय दुतावासले मंगलबार हिल्साबाट १ सय ५० जनालाई उद्धार गरेर सिमकोट ल्याएको जनाएको छ । ती यात्रुलाई सिमकोटबाट नेपालगञ्जसम्म आउनका लागि हवाई सेवाको व्यवस्था गरिएको बताइएको छ । मंगलबारमात्र नेपालगञ्जबाट सिमिकोटमा ७ वटा उडान भरिएको थियो । जसबाट १०४ तिर्थयात्रीहरुको उद्धार गरिएको हो ।

अलपत्र यात्रीहरुका लागि सहज होस् भन्ने उद्देश्यले भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले फरक फरक भाषामा हटलाइन नम्बर समेत सार्वजनिक गरेको जनाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटमार्फत हटलाइन नम्बर समेत सार्वजनिक गरेकी छन् ।

Loading...