यस्तो काम गर्ने सहकारीका अध्यक्ष ठाउँका ठाउँ गिरफ्तार

धनकुटा, १९ असार । सरकारी छाप किर्ते गरी रकम हिनामिना गरेको अभियोगमा प्रहरीले जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको छ ।

मालपोत कार्यालयको छाप किर्ते गरी रोक्का रहेको जग्गा फुकुवा गर्न संलग्न रहेको अभियोगमा धनकुटा नगरपालिका–६ नासल चोक घर भएका ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारी छाप किर्ते गरी फरार भएका श्रेष्ठलाई भीमनारायण चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । यस्तै, अर्का अभियुक्त दिलप्रसाद सिञ्जालीलाई समेत चार दिनअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले पाख्रिबास नगरपालिका–२ का दिलप्रसाद सिञ्जालीको नामको मालपोत कार्यालयबाट रोक्कामा रहेको जग्गा फुकुवा गर्न छाप किर्ते गरेको जनाईएको छ ।

रोक्का गरिएको जग्गा छाप किर्ते गरी फुकुवा गरेको भन्दै डिभिजन सहकारी कार्यालय धनकुटाले गत वैशाखमा प्रशासनमा जाहेरी दिएको थियो । नेपाल सरकार वादी रहेको उक्त उजुरीमा प्रतिवादीको रुपमा श्रेष्ठ र सिञ्जाली रहेका छन् ।

‘सरकारी छाप किर्ते गरी रकम हिनामिना गरी फरार श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले खोजीका लागि पत्र पठाएको थियो’, प्रहरी प्रमुख गुरुङले भने, ‘सोही पत्र बमोजिम फरार अवस्थामा रहेका दुवै जनालाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेका सिञ्जाली र श्रेष्ठलाई जिल्ला अदालतमा बुझाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुरुङले बताए । धरौटीमा राखिएको जग्गा किर्ते छाप बनाई फुकुवा गर्ने मुख्य योजनाकार श्रेष्ठ रहेको प्रहरीको दाबी छ ।

उनीहरुलाई यसअघि तीन दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको थियो । सोमबार पुन: एक साताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

Loading...