मनसुन सक्रीय भएसँगै देशभर झरी, यी ठाउँहरुमा ठूलो खतराको चेतावनी

काठमाडौँ, १८ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुन सक्रिए रहेको र आइतबार रातिदेखि नै पूर्वदेखि पश्चिमका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यो झरी अझै केही दिन रहने सम्भावना छ ।

दिनभरको मौसम पनि यस्तै रहने मौसमविद नगरकोटीले जानकारी दिइन् । केही ठाउँको मौसम भने बदलीको अवस्थामा छ ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही बेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने र दिनभर नै यस्तै रहने छ । पानी परिरहेका नदी किनार, तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने उनले बताइन् ।

देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेकाले बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

सोमबार पूर्वदेखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोला, विनयखोला, बाणगङ्गा, पश्चिम राप्ती, बबई, मोहन, मछेलीसहितका नदी तथा खोलामा बाढीको खतरा छ ।

बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा पनि सचेत हुनु पर्ने देखिएको छ । मंगलबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।

Loading...