चिकित्सकको सल्लाह नमान्दा म्यारोडोना समस्यामा

काठमाडाैं । जितको उन्माद र हारको पीडाले मानिसलाई कहिलेकाहीँ अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । रुसमा जारी विश्वकप फुटबलको अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा पनि महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई त्यस्तै अप्ठ्यारो प¥यो । समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग गर या मरको स्थितिमा रहेको खेल खेल्दा चरम तनावमा देखिएका म्याराडोना घरीघरी निदाउँथे ।

उनी कहिले जुरुक्क उठेर चिच्याउने गर्थे भने कहिले आकाशतिर हेर्दै भगवान्सँग टोलीको जितको प्रार्थना गर्थे । उक्त खेल हारेको भए उनको देश अर्जेन्टिना विश्वकपको समूहगत चरणबाटै बाहिरिने निश्चित थियो । खेलका क्रममा निकै उत्तेजित बनेपछि म्याराडोनालाई चिकित्सकले खेल नहेर्ने सुझाव पनि दिए ।

तनावमा देखिएको म्याराडोनाको रक्तचाप उच्च देखिएकाले चिकित्सकले उनलाई रंगशालाबाट बाहिरिन सुझाव दिएका थिए । तर, उनले चिकित्सकको सल्लाह मानेनन् ।

पहिलो हाफमा लियोनल मेसीको गोलपछि उत्साही बनेका म्याराडोनामा खुसी र पीडा उत्तिकै देखिन्थ्यो । खेलका क्रममा चिकित्सककै निगरानीमा राखिएका ५७ वर्षीय म्याराडोनालाई दोस्रो हाफमा पुनः चिकित्सकले खेल नहेर्न र होटेलमा गएर आराम गर्न सुझाए दिएका थिए । कहिले निदाउने र कहिले एक्कासि उफ्रिएर चिच्याउने गरेका म्याराडोनाको स्वभावले चिकित्सकलाई पनि अप्ठ्यारो परेको थियो ।

तर, म्याराडोनाले कुनै पनि हालतमा खेल छाड्न मानेनन् । खेलको अन्तिममा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलले हराउँदासमेत म्याराडोना चिकित्सककै पूर्ण निगरानीमा थिए । खेलपछि पनि उनी चिकित्सकको निगरानीमै रहेको बताइएको छ ।

उक्त खेलमा सफलता हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगिससेको छ । ‘हो मलाई चिकित्सकले पटकपटक परीक्षण गरे । दोस्रो हाफको खेल सुरु हुनुअघि नै उनीहरूले रंगशालाबाट बाहिरिन सुझाए दिएका थिए । अर्जेन्टिनाको फुटबल यस्तो अवस्थामा हुँदा म कसरी बीचमै हिँड्न सक्थेँ । मलाई त्यहीँ बस्न मन थियो,’ म्याराडोनाले भनेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दा म्याराडोना टोलीका महत्वपूर्ण सदस्य थिए । अर्जेन्टिनाले रुस विश्वकपको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरी र दोस्रो खेल क्रोएसियासँग ३–० गोलको अप्रत्याशित हार खेपेपछि म्याराडोनाले अर्जेन्टिनी टोलीसँग भेट्न चाहेका थिए ।

उनले अर्जेन्टिनाको ती दुवै खेल पनि रंगशालामै पुगेर हेरेका थिए । क्रोएसियासँगको हारपछि झनै क्रुद्ध देखिएका म्याराडोनाले हारको दोषी खेलाडी नभएर अरू नै कोही भएको भन्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडिओ टापिया र प्रशिक्षक जर्ज साम्पाओलीको समेत आलोचना गरेका थिए ।

Loading...