यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो ।

गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह किम जोङ उनको रक्षाका लागि दौडिएको रनिङ गार्डको एउटा दस्ता थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि आफू बसेको होटेलबाट सोही दस्ताको घेरामा किम अर्को होटेल पुगेका थिए ।

विदेश यात्राका समयमा असुरक्षित महसुस गर्ने किम रनिङ गार्डको घेराभित्र गाडी चलाउँछन् । यस्तै सुरक्षा घेरामा किमले अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाको सीमाक्षेत्रमा दक्षिणका राष्ट्रपति मुनजाय इनसँग शिखर वार्ता गर्न पुगेका थिए । पछिल्लो दृश्यले उत्तर कोरियाले आफ्ना नेताको सुरक्षाको सवालमा कुनै कसर बाँकी राख्दैन भन्ने पुष्टि हुन्छ ।

किमका अगंरक्षकहरू सुरक्षाको बहानामा स्टन्ट मात्र देखाउँदैनन्, परिआएमा जुनसुकै हथकन्डा अपनाउँछन् । किम आफ्नो सुरक्षाबारे गम्भीर छन् । जुनसुकै वेला हत्या हुने सक्ने उनका त्रास छ । त्यही भएर उनले चीन भ्रमणमा आफ्नै रेल लगेका थिए । आफ्नो शासन मजबुत बनाउन सयौँ सैन्य अधिकारी र आफ्नै फुपाजुको ज्यान लिएका बर्बर तानाशाह किमको स्वदेश र विदेश भ्रमणमा कस्तो सुरक्षा हुन्छ ? यसबारे चौतर्फी चासो देखिन्छ ।

अंगरक्षकको अलग्गै कार्यालय हुन्छ

तानाशाह किमलाई सामान्यतया तीनवटा घेराको सुरक्षा व्यवस्था हुन्छ । किमको बुलेटप्रुफ गाडी र उनको नजिक दौडने अंगरक्षकहरूको समूहका लागि एउटा कार्यालय नै छ, जसलाई मेन अफिस अफ एडजक्टेन्ट भनिन्छ । राष्ट्रिय सेवामा आफ्नो कर्तव्य निर्वाह गर्न कोरियाली पिपुल्स आर्मी (केपिए)मा भर्ना भएका व्यक्तिहरूबाटै अंगरक्षकको छनोट हुन्छ । कार्यालयमा प्रायः सबै किम परिवार वा उत्तर कोरियाको सभ्रान्त परिवारका सदस्य हुन्छन् ।

किमको अंगरक्षकका लागि छनोट भइसकेपछि उनीहरूले कठोर तालिम सम्पन्न गर्नुपर्छ । सुरुमा उनीहरूलाई कोरियाली जनसेनाको विशेष अपरेसन फोर्सलाई जस्तै तालिम दिइन्छ । जसअन्तर्गत हाते बन्दुकको प्रयोग, भाग्ने तथा रक्षा गर्ने कला र विभिन्न मार्सल आर्ट पर्छन् । अंगरक्षकमा छनोट भएकाहरू शारीरिक रूपमा बालिया हुनुपर्छ ।

अंगरक्षकका मापदण्ड

किमका रनिङ गार्ड हुन विभिन्न मापदण्ड पूरा गर्नुपर्छ । त्यसमध्ये सबैभन्दा महŒवपूर्ण पक्ष उचाइ हो । उनीहरूको उचाइ सर्वोच्च नेताको हाराहारीकै हुनुपर्छ । उनीहरूमा कुनै दृष्टिदोष हुनुहुन्न । अर्थात् उनीहरूका आँखा तेज हुनुपर्छ ।

अंगरक्षकहरूमा निश्चित सैन्य सीप अनिवार्य मानिन्छ । निशाना ताक्न सक्ने विशेष ज्ञान, ताकेको ठाउँमा गोली हान्न सक्ने खुबी र फौजी कला नभई हँुदैन । उनीहरूको अनुहारको हाउभाउ र फिटनेसलाई पनि महत्व दिइन्छ । किमको अंगरक्षकका लागि छनोट हुने फौजीको पारिवारिक पृष्ठभूमिका साथै उनीहरूको दुई पुस्ताबारे अनुसन्धान गरिन्छ ।

अंगरक्षकहरूले ३६० डिग्रीमा किम र उनीवरपरको क्षेत्रमा एउटा रिङ बनाउँछन् । किमको वरपर हिँड्ने वा किमको अगाडि घोडा चढेर सुरक्षा दिने समूह मेन अफिस अफ एडजक्टेन्टका निर्देशकसहित तीनदेखि पाँचजनासम्मको हुनेछ । त्यस्तै किमका दायाँ–बायाँ चारदेखि ६ जना अंगरक्षक हुन्छन् । दुईदेखि तीनजना दायाँतर्फ र अरू दुई–तीनजना बायाँतर्फ हुनेछन् । त्यस्तै किमका पछाडि चारदेखि पाँचजना अंगरक्षक हुन्छन् ।

दोस्रो र तेस्रो घेरामा गार्ड कमान्ड

किमको दोस्रो र तेस्रो घेराको सुरक्षाको जिम्मा गार्ड कमान्ड अर्थात् जिसीको हुन्छ । मेन अफिस अफ एडजक्टेन्टले सर्वोच्च नेतालाई रक्षा गर्ने भए पनि गार्ड कमान्ड किम जाने स्थानको भौतिक क्षेत्रको सुरक्षाको जिम्मेवार हुन्छन् । स्वदेशमा किम रहने सरकारी भवन, निजी आवास वा विदेश जाँदा किम बस्ने होटेलको भौतिक वातावरणको सुरक्षा जिसीले दिन्छ । यसबाहेक जिसीले किमको बन्दोबस्ती र प्राविधिक कार्यमा सहयोग गर्छ ।

गार्ड कमान्ड (जिसी)मा आबद्ध अंगरक्षकहरूले पनि मेन अफिस अफ एडजक्टेन्टका अंगरक्षकहरूलाई जस्तो छनोट तथा परीक्षण पास गर्नुपर्छ । किमको सिंगापुर भ्रमणका क्रममा तीनवटा विमान प्योङयाङबाट सिंगापुर पुगेका थिए । दुईवटा विमानमा गार्ड कमान्डका सुरक्षाकर्मी थिए । जिसीका महिला तथा पुरुष सुरक्षाकर्मीले किमको मिसनमा आबद्ध भएर सहयोग प्रदान गरेका हुन्छन् । उनीहरूले किमले प्रयोग गर्ने फोन, कम्प्युटर र प्राविधिक सुरक्षा प्रदान गर्छ । त्यस्तै उनीहरूले सिंगापुर भ्रमणका क्रममा किमले पिउने मदिरा, खाना, चुरोट इत्यादि प्योङयाङबाट ल्याइदिएका थिए । किमले स्वदेशमा खाँदा वा देशबाहिर विशेष रात्रिभोज वा लन्चमा सहभागी हुँदा उनलाई दिइने खानेकुरा पहिला जिसीले परीक्षण गरेर मात्र लिन्छन् । सिंगापुरमा पनि गार्ड कमान्डले परीक्षण गरेपछि मात्र किमले केही खानेकुरा लिएका थिए ।

जिसीको अलग्गै मेडिकल डिपार्टमेन्ट पनि छ, जहाँ किमका व्यक्तिगत चिकित्सक र मेडिकल कर्मचारीले काम गर्छन् । सिंगापुर भ्रमणका क्रममा दुईजना चिकित्सक थिए । किमको व्यक्तिगत सुरक्षाका लागि जिसी २ डिपार्टमेन्टले दुईदेखि तीनवटा सुरक्षा घेरा दिन्छ र किम जाने, बस्ने र भ्रमण गर्ने क्षेत्रमा केन्द्रित हुनेछ ।

बाबुका भन्दा छोराका अंगरक्षक छरिता

हरेक अंगरक्षकसँग पेस्तोल हुन्छ । उनीहरूले निगरानीको कला (आफ्ना नेतावरपर) हुनुका साथै आफ्नो हात तथा शरीरले सम्भाव्य कुनै खतरालाई निस्तेज पार्ने खुबी हुनुपर्छ । वर्तमान नेताका बाबु किम जोङ इल जीवितै हुँदा उनलाई पनि एउटा जम्बो टोलीले सुरक्षा दिन्थ्यो । दुई वरिष्ठ अधिकारीअन्तर्गत एउटा अंगरक्षकको दरमा किमलाई सुरक्षा प्रबन्ध गरिन्थ्यो । वरिष्ठ अधिकारी प्रशस्त हुन्थे । तर, बाबुको तुलनामा वर्तमान नेताका अंगरक्षक सानो, छरितो र चुस्त मानिन्छ । अंगरक्षक सामान्यतया पश्चिमी शैलीको सुट र टाईमा सजिएका हुन्छन्, जुन सिंगापुर र कोरियाली प्रायद्वीपमा किमलाई सुरक्षा दिँदा देखिन्थ्यो ।

किमका चालक जहिले पनि नाइलन वा छालाको पन्जा लगाएर गाडीको स्टेयरिङ चलाउँछन् । उनीहरूले हेडफोनबाट रेडियो कम्युनिकेसन प्रयोग गर्छन् । आफ्नो पहिचानका लागि पोसाकमा छुट्टै संकेत हुन्छ, जसलाई निकै पुरानो विधि मानिएको छ । उनीहरूले प्रशस्तै कोड भाषा र सांकेतिक वाक्य प्रयोग गर्छन् । मेन अफिस अफ एडजक्टेन्टमा २ सयदेखि ३ सय फौज छन् । तीमध्ये आधा किमका अंगरक्षक छन् । बाँकी चालक र प्राविधिक कर्मचारी हुन्छन् । किमका अग्रजहरूका केही अंगरक्षकले लामो समय सेवा गरे पनि सामान्यतया १० वर्षपछि अंगरक्षक सेवानिवृत्त हुन्छन् वा अन्य सुरक्षा विभागमा खटाइन्छ ।

Loading...