मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’

अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्।

मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्।

‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो देशबाट विश्व च्याम्पियन नबनेरै सक्रिय फुटबलबाट सन्यास लिन चाहन्नँ।’

‘आफैले विश्वकप उचालेको हेर्ने र त्यो पलको अनुभूति लिने मेरो ठूलो धोको छ,’ मेस्सीले थपे, ‘विश्वकप उचालेको पल कस्तो होला भनेर सम्झँदै मेरो रौं ठाडा हुन्छन्। त्यसबेला मैले दशौं लाख अर्जेन्टिनीहरुलाई खुशी दिइरहेको हुनेछु। हामी अर्जेन्टिनालाई विश्वकप दिलाउने सपनालाई कहिलै छाड्ने छैनौं।’

२०१४ को विश्वकपको उपविजेता अर्जेन्टिना यसविश्वकपको पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएशियासँग ३–० अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ।

अन्तिम खेलमा मंगलबार नाइजेरियालाई पराजित गरे र अर्को खेलमा क्रोएशियाले आइसल्याण्डलाई पराजित गरे अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ।

Loading...