इन्जिनियरहरुको तलब बढाउन माग

काठमाडौं । निजी क्षेत्रमा कार्यरत ठूलो संख्यामा रहेका इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकमा काममा लगाइएको भन्दै उनीहरुको सुविधा बृद्धि गर्न आवाज उठेको छ । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियशनले यस्तो आवाज उठाएको हो ।

सो संगठनले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सरकारी सेवा सुविधा सरह नै पारिश्रमिक दिनु पर्ने र ३ महिना इन्टर्नसिप गर्ने इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरुलाई पनि उनीहरुले काम गरे अनुरुपको पारिश्रमिक दिनुपर्ने आवाज पनि उठाएको छ । सो संगठनका केन्द्रीय अध्यक्ष सुरेश कुमार चौधरीले निजी क्षेत्रमा ठूलो संख्यामा इन्जिनियरहरुले काम गरिरहेको तर उनीहरुको पारिश्रमिक निकै न्यून रहेको बताए । उनीहरुबाट काम भने भरपुर लिने गरिएको तर उनीहरुलाई दिने सेवा सुविधा भने अत्यन्तै न्यून राखिएको उदाहरण दिँदै चौधरीले अब यस्तो कार्य तत्काल बन्द गरी कुनै पनि इन्जिनियरलाई काममा लगाए वापत उनीहरुको सरकारले तोके वमोजिमको पारिश्रमिक तथा सेवा सुविधा अनिवाई दिनुपर्ने बताए । यदि निजी क्षेत्रका कम्पनीहरुले यसैगरी दक्ष जनशक्तिलाई न्यून तलबमा काममा लगाएर उनीहरुको श्रम शोषण गरिए आफ्नो संगठनले त्यसका विरुद्ध संघर्ष गर्ने बताए ।

हालै काठमाडौमा सम्पन्न भएको सो संगठनको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । साथै संगठनले आगामी मंसिर महिनामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । उक्त सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न नयाँ कार्यक्रमहरुको पनि निर्माण, संश्लेषण तथा घोषणा गर्ने अध्यक्ष गौतमले जानकारी दिए ।

संगठनको बैठले नेपालले निर्धारण गरेका राष्ट्रिय प्राथमिकताका आयोजनाको प्राविधिक विभागमा इन्जिनियरहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउनका लागि आवाज उठाउने पनि जनाएको छ । त्यस्तै निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको उचित पारिश्रमिक सुनिश्चितता गराउने, निजी कलेजहरुको भौतिक पूर्वाधारहरुको नियमन तथा अनुगमन गरी प्रभावकारी बनाउन भूमिका खेल्ने संगठनले जनाएको छ । त्यस्तै इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरुबाट लिइने चर्को शुल्क रोकेर वैज्ञानिक शुल्क निर्धारण गराउन संघर्ष गर्ने पनि जनाएको छ ।

Loading...