लगातार आकाशे पानीमा धुलो र हिलो मिसिएर आउन थालेपछि सबै दङ्ग

काठमाडौं, ३ असार । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा प्रभाव देखिएको छैन ।

गत शुक्रबार राति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण एकछिन अचम्मित भएका थिए । बाहिर राखिएका भाँडाकुँडामा पनि पहेँलो पानी देखिएको थियो । यस्तोखालको वर्षा नेपालमा पहिलोपटक भएपछि सर्वसाधारण आत्तिएका थिए ।

तर, यस्तोखालको वर्षा नेपालमा नभए पनि भारतलगायत अन्य देशमा यसअघि पनि हुने गरेको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । ‘भारतको राजस्थानलगायत विभिन्न क्षेत्रबाट नेपालमा धुलो–धुवाँ आउनु नौलो विषय होइन । सधैँजसो वायुले ल्याउने गर्छ,’ श्रेष्ठले भने, ‘तर नेपालका विभिन्न क्षेत्रमा सर्वसाधारणले महसुस गर्ने गरी धुलो मिस्सिएको पहेँलोखालको वर्षा भएको यो पहिलोपटक हो । त्यसैले धेरैलाई आश्चर्य लागेको हो ।’

अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले भारतमा पनि धमिलो वर्षा भएको छ । भारतका गुजराज, उत्तरप्रदेश, दिल्ली, हरियाना, उत्तरखण्डलगायत प्रदेशमा धुमिलो वर्षा भएको महाशाखाले जनाएको छ । धुलोसहितको वर्षाकै असर स्वरूप भारतीय राजधानी दिल्लीमा शुक्रबार पूर्वाधार निर्माणका सबै काम ठप्प भएका छन् । यस्तैखालको वर्षा भुटानको दक्षिणी क्षेत्र र पाकिस्तानका अधिकांश क्षेत्रमा पनि भएको छ ।

राजनस्थानबाट निरन्तर पश्चिमी वायुले धुलो–धुवाँ ल्याइरहेकाले अझै केही दिन धमिलो वर्षा हुने श्रेष्ठले बताए । ‘हामीले यसरी आइरहेको धुलो–धुवाँबारे तीन दिनसम्मको पूर्वानुमान गर्न सक्छौँ,’ उनले भने, ‘अझै धुलो आउने क्रम जारी रहेकाले अझै केही दिन लाग्न सक्ने देखिन्छ ।’ नेपाली आकाशमा कति मात्रामा धुलो–धुवाँ छ भन्ने विषय स्पष्ट नभएको श्रेष्ठले बताए ।

पहेँलो धुलोसहितको वर्षाले मानव स्वास्थ्यमा असर गर्ने/नगर्ने विषयमा परीक्षण गरेपछि मात्रै भन्न सकिने वातावरणविद् भूपेन्द्र देवकोटाले बताए । ‘मरुभूमिबाट शुद्ध धुलो र धुलोका कणमा मिएर आएका वर्षाले खास्सै असर गर्दैन होला,’ उनले भने, तर, ‘धुलोका कणसँग विभिन्न उद्योगधन्दाको धुवाँ मिसिएर आएको छ भने खराब हुन सक्छ ।’ कस्तो प्रकृतिको धुलोसहितको पानी परेको भन्ने विषयमा अहिले भन्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । धुलोसहितको पहेँलो बाक्लो वर्षाका विषयमा परीक्षण नगरिएकाले केही भन्न सकिने अवस्था नरहेको उनले बताए ।

Loading...