काष्ठमाण्डप पुनर्निमाण समितिलाई ५० लाख अनुदान

तीन वर्ष भित्र काष्ठमाण्डप पुननिर्माण गर्ने लक्ष्य

   

जेठ २९, काठमाडौं । तीन वर्ष भित्र काष्ठमाण्डप पुननिर्माण गर्नको लागि काठमाडौ महानगरपालिकाले पुनर्निमाण समितिलाई ५० लाख रुपयाँ अनुदान हस्तान्तरण गरेको छ । महानगरले नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको नेतृत्व समिति र काठमाडौं महानगरबीच १२ बुदे सहमति पत्रमा मंगलवार हस्ताक्षर भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष शाक्यलाई अनुदान रकम प्रदान गर्नुभएको हो ।

गत बैशाख ३१ गते काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम सुभारम्भ गरेका थिए ।

अनुदान रकम प्रदान गर्दै महानगरका प्रमुख शाक्यले भन्नुभयो ” काष्ठमण्डपको पुननिर्माणका लागि यस अघि गरिएको ढिलाइ अव गर्नु हुँदैन । नियमित काम गरेर २ बर्षभित्र पुननिर्माण कार्य सम्पन्न गर्नुपर्छ । प्रक्रियाको परिपक्वता र क्षेत्रगत सहभागिताका लागि यस अघि नै पर्याप्त समय खर्च भइसकेको छ । त्यसैले अव कुनै पनि हालतमा काम ढिलो हुनुहुँदैन । यस कार्यमा नागरिकको पनि सहभागिता हुनेछ । आफ्नो सम्पदा आफैं बनाउन सक्ने स्थानीयको आँटलाई हामीले हौसला दिएका हाँैं । ”

नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग समेतको राय परामर्शका आधारमा काठमाडौं महानगरपालिको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघसंस्था आदिको सहयोगमा पुनर्निमाण गर्ने उल्लेख गरिएको छ ।नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भए बमोजिम गर्नु पर्ने, शाक्यको अध्यक्षतामा ५५ जना स्थानीय, विषय सम्वद्ध सरोकारवाला व्यक्तिहरु सम्मिलित काष्ठमण्डप पुनर्निर्माण समितिले नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतबाट आर्थिक स्रोत जुटाई काष्ठमण्डप पुनःनिर्माण गर्ने उल्लेख छ ।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, जन कवि दुर्गालाल श्रेष्ठ, प्रतिनिधि सभाका सदस्य जीवन राम श्रेष्ठ, प्रदेश सभाका सदस्य बसन्त मानन्धर, काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, पुरातत्व बिभागका महानिर्देशक भेष नारायण दाहाल, वडाअध्यक्ष तथा वडा सदस्यहरुसँगै सम्पदा संरक्षणमा चासो राख्ने स्थानीहरुको उपस्थिति थियो ।

 

Loading...