प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक

काठमाडौं।

त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे ।

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढाऐरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो ।

त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त सुरुआत गरेको आर्मीका लागि राहत मिलेको थियो । पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे ।

छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए । बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, विक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १-१ विकेट लिए ।

२९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।

Loading...