३३ किलो सुन प्रकरणमा अनुसन्धान नै त्रुटिपूर्ण रहेको दावी

काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् ।

पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् । उनीहरूले समितिको त्रुटि सच्याउन विशेष आयोग वा त्यस्तै प्रकृतिको बहुपक्षीय समिति बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।

पूर्वएआईजी भण्डारीले पछिल्लो अनुसन्धानले केही प्रश्न जन्माएको बताउँदै भने, ‘अन्डरकभर अप्रेसनलाई कसरी नियमावलीले समेटने र अनुसन्धानकर्मीले व्यक्तिगत रूपमा कहिलेसम्म जोखिम उठाइरहने ?’ भण्डारीले संगठित अपराधको अनुसन्धानमा जुटेको प्रहरीलाई केही विशेषाधिकार दिइनुपर्नेमा पछिल्लो घटनामा अनुसन्धानरत प्रहरीलाई नै जेल पठाइहाल्ने हतारो गरिएको बताए ।

उनले भने, ‘प्रहरी संगठन नै यसबारे बोल्नुपर्ने थियो । यो राम्रो भएन ।’ भण्डारीले अनुसन्धान सिलसिलामा प्रहरीले सूचना चुहाउन संगठित आपराधिक समूहसँग मिलेजस्तो गर्नुपर्ने, बार्गेनिङको नाटक गर्नुपर्नेजस्ता अभ्यास हुने अनुभव सुनाए ।

Loading...