आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ पराजित

काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ लाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको आक्रमक ब्याटिङको मद्दतमा निर्धारित् ४५ ओभरमा २२५ रनको योगफल तयार पारेको थियो ।

विनोदले २९ बलमा चार चौका र ६ छक्काको मद्दतमा ६४ रनको योगदान गरे । जवाफमा २२६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नम्बर–१ ले २९.३ ओभरमा ११९ रन बनाउँदै अलआउट भयो ।

आर्मीका लागि सुशन भारीले सर्वाधिक ४ विकेट लिए । जितसँगै ४ अंक जोडेको आर्मी समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा दोस्रो पराजय व्यहोरेको प्रदेश–१ समूहको पुछारमा छ ।

प्रतियोगिताअन्तर्गत् शुक्रबारै मूलपानी क्रिकेट मैदानमा हुने तय भएको नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेल भने खराब मैदानका कारण रद्ध भएको छ ।

Loading...