धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त फाउन्डेशनलार्इ चन्दा उठाउन राेक नै लगाउने निर्णय गरेपछि त्याे अालाेचनाले अझ बढी चर्चा पाएकाे हाे ।

फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले ठूलाे चन्दा उठाउँदै आएको भन्दै यसअघि अालाेचना भएकाे थियाे । तर, कलाकार धुर्मुसले भने याे अाराेप पूरै पूर्वाग्रही भएकाे र अाफूहरुले कुनै चन्दा नउठाएकाे भन्दै यसकाे खण्डन गरेका छन् । उनले अाफूहरुले गरेकाे राम्राे कामलार्इ केही सहयाेग उठेकाे तर त्यसलार्इ चन्दा भन्न नमिल्ने पनि जानकारी दिएका छन् । त्यसकाे सबै हिसाबकिताब अाफूहरुसँग भएकाे भन्दै यस्ताे पूर्वाग्रही अाराेपका भरमा सरकारले गरेकाे निर्णयप्रति पनि उनले असहमति जनाएका छन् ।

वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए । सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।

वीर अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सफाइका नाममा केही कमीकमजोरी भएको स्विकारर्दै चन्दा नउठाउन निर्देशन दिएकी हुन् । उनले अस्पताल सफाइको क्षेत्रमा देखिएको समस्या तीन पक्ष बसेर समाधान गर्ने पनि बताइन् ।

कार्यक्रममा उपस्थित धुर्मुसले राम्रो काम गरेका कारण फाउन्डेसनले निरन्तर सहयोग पाइरहेको बताए । उनले भने ‘चन्दा भन्ने शब्दमा म सहमत छैन, धुर्मुस–सुन्तली फाउन्डेसनले राम्रो काम गरेको छ । त्यसबापत सहयोग जुटेको हो ।’ उनले वीर अस्पतालमा जेजस्तो काम भइरहेको छ, त्यो सबै अस्पताल र मन्त्रालयको सहमतिमै भइरहेको पनि बताए । धुर्मुसलेले अभियानका नाममा हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा करिब १० लाख लागतमा वीर अस्पतालमा रगरोगन भएको थियो ।

नियमअनुसार ५ लाखभन्दा बढी रकमको काम गर्नुपरे सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्छ । वीर अस्पतालका निर्देशक प्राडा. भूपेन्द्र बस्नेतका अनुसार समस्या भएको अवस्थामा ५ लाखसम्म विनाटेन्डर काम गर्न सकिन्छ । त्यसभन्दा माथिका लागि टेन्डर अनिवार्य हुन्छ । तर, विनाटेन्डर सरकारी खर्चमा वीर अस्पतालमा ४८ लाखमाथि खर्च भएको छ ।

Loading...