सुष्मा स्वराजले भनिन, ‘प्रम मोदीले जनकपुरमा लाखौ भारतीयलार्इ सम्बोधन गर्नुभयो’

व्यापक दवावपछि अन्तत: मागिन माफी

काठमाडौं, १५ जेठ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्।

उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्। गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। मोदीले त्यहाँ उपस्थित नेपाली र भारतीयहरुका अगाडि सम्बोधन गरेका थिए।

स्वराजले पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारतको इतिहासमै धेरै प्रवासीलाई सम्बोधन गरेर जोड्ने काम गरेको बताएकी थिइन्। सोही क्रममा उनले ‘अमेरिकाको मेडिसन स्क्वायर देखि लिएर जनकपुरसम्म मोदीले लाखौँ प्रवासी भारतीयलाई सम्बोधन’ गरेको बताएकी थिइन्।

सुष्माको भनाईलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो। उनलाई मेन्सन गर्दै धेरै नेपालीहरुले गल्ती सच्याउन आग्रह गरेका थिए। सुष्माले ट्विट मार्फत गल्ती स्वीकार गरेकी हुन्। ‘म क्षमा माग्न चाहान्छु’, उनले गल्ती भएको भिडियो पोस्ट गर्दै लेखेकी छिन्।‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन्, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौँ भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ’, सुष्माले यसो भनेको भिडियो यु ट्युबमा पनि राखिएपछि कडा आलोचना सुरू भएको थियो ।

सुष्माले जनकपुरको नाम लिए पनि जनकपुरमा भारतीयको उपस्थिति नगन्य रहेको छ । जनकपुरमा मोदी आउँदा एकाध हजार भारतीय बिहारबाट आए पनि नेपालीसहित २० हजार भन्दा धेरै सहभागी भएका थिएनन् ।

सुष्माले करिब डेढ घण्टा लामो सवाल जवाफमा निकट छिमेकी नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे एक शब्द पनि बोलेकी थिइन्न । तर उनले जनकपुरमा मोदीले लाखौँ भारतीयलार्इ सम्बोधन गरेको विवादास्पद अभिव्यक्ति दिन भ्याइन् ।

विदेश मन्त्री सुष्माले चीन, पाकिस्तान, अमेरिका, माल्दिभ्स, बंगलादेश र म्यानमारसहितका देशसँगको सम्बन्धको खुलेर चर्चा गर्दा नेपालको नामै लिइनन् । तर बिहारसँग जोडिएको जनकपुरमा मोदीले गरेको सम्बोधनलाई उनले भारतीय नागरिकलाई गरेको सम्बोधनको संज्ञा दिँदै विवादमा परिन् ।

हेर्नुहाेस भिडियाे, याे भिडियाेमा सुष्माले जनकपुरमा लाखाै भारतीयलार्इ माेदीले सम्बाेधन गरेकाे बताएकी छन्

Loading...