जिउ र हातखुट्टा दुखिरहन्छ ? तपार्इलार्इ भिटामिन डीको कमी हुनसक्छ

काठमाडौं । जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ।

राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार गत चैतदेखि वैशाखभित्र अर्थात एक महिनामा परीक्षण गरिएका ५ सय १७ नमुना मध्ये ४ सय २९ जनालाई अर्थात् ८२ प्रतिशतमा भिटामिन ‘डी’को कमी भएको पाइएको छ । कम भएका मध्येमा पनि कतिपयको पूरै कमी भएको र केहीको अलिकति कमी भएको प्रयोगशालाले जनाएको छ ।

शरीर तथा हातखुट्टा दुखेर आएका ३० देखि ४० प्रतिशतमा बिरामीमा भिटामिन ‘डी’ को कमी हुने गरेको वीर अस्पताल मेडिकल विभागले जनाएको छ । विभागका वरिष्ठ फिजिसियन डा. धुव्र गैरै भन्छन्, ‘थकाइ लाग्यो, खुट्टा दुख्यो भन्दै आउँछन् रगत परीक्षण गर्दा भिटामिन ‘डी’को कमी देखिन्छ ।’ गाउँ र सहर दुवै ठाउँका बिरामीमा भिटामिन ‘डी’को कमी देखिएको डा. गैरेले बताए । रेफरल प्रयोगशाला मानिने राष्ट्रिय प्रयोगशालामा भने अस्पतालको तुलनामा दोब्बर संख्याका बिरामीमा भिटामिन ‘डी’को कमी देखिएको छ।

भिटामिन ‘डि’ कम हुनुको कारण बारे बताउँदै राष्ट्रिय प्रयोगशालाकी प्रमुख रुग्णा झा भन्छिन्, ‘ वंशाणुगत रुपमै कम भएको पनि हुन सक्छ वा अन्य कारणले पनि हुन सक्छ ।’ मानिसहरु उपचारमा आउने चलन बढेकाले भिटामिन ‘डी’को समस्या पत्ता लाग्दै गएको बताउँछन् फिजिसियन डा. धुव्र गैरै । भिटामिन ‘डी’जन्य खानाको अभावमा पनि समस्या बढ्दै गएको हुन सक्ने उनको तर्क छ । उनी भन्छन्, ‘भिटामिन ‘डी’हुने खानेकुरा नपुगेको देखिन्छ । यो भिटामिनको कमी भएकाहरुलाई थकाइ लाग्ने, शरीर तथा हातखुट्टा दुख्ने, शरीर सुन्निने जस्ता समस्या देखिन्छन् । समयमै उपचार नभएमा पूरै शरिर सुन्निने र अन्य रोग देखापर्ने हुन्छ । रोग बिग्रिँदै गएमा बिरामी पूरै असक्तसमेत हुनसक्छ ।

चिकित्सकका अनुसार सूर्यको प्रकाश, सामुन्द्रिक खाना साल्मोन माछा, अण्डा, दूध, तर ननिकालेको दुध, काजु, माछामा भिटामिन ‘डी’ पाइन्छ । यी खानेकुरा दैनिक भोजनमा मिलाएर सन्तुलित खाना खाँदा र बिहानीको घाममा शरिर खुल्ला राखेर बस्नाले भिटामिन ‘डी’ पाइन्छ । शरीररमा भिटामिन ‘डी’को कमी भइसकेकाले भने चिकित्सकको सल्लाहअनुसार भिटामिन ‘डी’ ट्याब्लेट खानुपर्छ । भिटामिन ‘डी’ जन्य खाना तथा सूर्यको प्रकाशले पनि पूर्ति नभएमा भने उपचारमा जानुपर्छ।

Loading...