सिमा क्षेत्रमा फेरी तनाव: दुई देशका सेनाबीच गोली हानहान, ९ जनाको मृत्यु

काठमाडौं, ५ जेठ ।

भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ ।

अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ ।

पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको र ४ जना जवान मारिएको बताएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले तीन दिनयता लगातार सीमा क्षेत्रमा गोलीबारी गरिरहेको जनाएको छ । सन् २००३ मा भारत पाकिस्तानबीच संघर्षविरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ ।

रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम’ को घोषणा गरेका थिए । तर पनि कश्मीरमा हिंसा कम भएको छैन ।

उता नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ ।

उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, चार जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताए ।

बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामा मात्रै अहिलेसम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।

यसैबीच, नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा बोको हरामका १५ लडाकु मारिएका छन् । बुधबार दिएको जानकारी अनुसार नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरू मारिएका हुन् ।

बोको हरामका चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर ज्यान गुमाएका हुन् भने अरु ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गरिएको थियो ।

सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् ।

Loading...