नेकपा ‘अण्डरलाइन’को एकतापछि बसेको पहिलो बैठकले गर्‍यो यस्ता ८ निर्णय

काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को पहिलो केन्द्रीय समितिको बैठकले ८ निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसेर केन्द्रीय सदस्यहरुको शपथपछि बैठकका निर्णय सुनाइएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावहरु निर्णयार्थ पेश परेका थिए ।

उनले गरेको प्रस्तावलाई केन्द्रीय सदस्यहरु सर्वसम्मत पारित गरेका थिए । निर्णयलाई अर्का अध्यक्ष ओलीले ‘ऐतिहासिक’ निर्णयको संज्ञा पनि दिए ।

यस्ता छन् बैठकले गरेका निर्णयहरुः

१) दल एकीकरण भएको निर्णय गरियो ।

२) पार्टी नामकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिस्ट पार्टी रहने निर्णय गरियो ।

३) दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो ।

४) राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधवकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधनसहित पारित गर्ने निर्णय गरियो ।

५) दलको निर्वाचन चिह्न ‘सूर्य’ रहने निर्णय गरियो ।

६) दलको सम्पत्ति र दायित्वसम्बन्धी प्रस्ताव उपर छलफल हुँदा साबिकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो ।

७) एकीकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साबिकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो ।

८) एकीकरण भएको दल नेकपाको केन्द्रीय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्थित भएका सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो ।

यसैबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टी ‘अण्डरलाइन’का कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।

यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरियो । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् ।

के भने ओली-प्रचण्डले ?

अण्डरलाइनका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला एमाले र माओवादी केन्द्रको एकतासँगै अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा गर्न राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने आफूहरुको उद्देश्य भएको बताए । उनले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको समेत बताए ।

उनले पार्टी एकता महान छलाङ र फड्को भएको बताए । पार्टी एकता गुणात्मक छलाङ भएको भन्दै प्रचण्डले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेजस्तै हो । यी दुई तत्व मिलेर पानी बन्छ । तर पानीमा हेर्दा यी दुई तत्व देखिदैँन ।’

राष्ट्रको समृद्धि, जनताको विकासको चाहना, आन्दोलनमा परिमार्जन गर्न, अन्तर्राष्ट्रिय राजनीतिमा विकास, स्थिरता र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण रहेको उनले बताए ।

त्यस्तै अण्डरलाइनका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपाले अर्को चुनावमा तीन चौँथाई मत ल्याउने दाबी गरेका छन् । एकीकरण समारोहलाई सम्बोधन गर्दै ओलीले कम्युनिष्टका लागि दुईतिहाई मत समान्य जोडघटाउ मात्र भएको बताएका छन् ।

ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताउँदै भने, ‘संसदमा बहुमत सहित एउटै पार्टीको सरकार भयो । अब कम्युनिष्टका लागि दुई तिहाई सामान्य जोड घटाउ हो । अर्को चुनावमा दुई तिहाई होइन तीन चौँथाई ल्याउँछौँ ।’

पार्टी एकताको विषयमा मानिसहरुले ठट्टा गरिएको बताउँदै कतिपयलाई ६ महिनाअघि ठट्टा लाग्ने एकता वास्तविकतामा परिणत भएको बताए । उनले ‘दुई दिनअघि मात्रै मैले यही मञ्चबाट दुईदिन समय लाग्छ, एकता कतिखेर हुन्छ टुंगो छैन भन्या थेँ, कतिलाई ठट्टा लाग्यो ।’

प्रधानमन्त्री ओलीले काँग्रेस वैधानिक हिसाबले प्रमुख प्रतिपक्षी भएपनि आफूले त्यसरी नहेर्ने बताए । ओलीले नेपाली काँग्रेसलाई कटाक्ष गर्दै एउटा चुनाव हार्दा काँग्रेस आत्तिएको बताए । एउटा चुनाव हार्दैमा दिशाहिन भएर भित्तामा ठोक्काउँदै हिडेको बताउँदै उनले भने, ‘खै हामीले त १५ सालमा ४ सिटमात्र ल्याएका थियौँ । तैपनि हामी त लोकतान्त्रिक मान्यतामा दृढ भएर अघि बढिरह्यौँ । अलिकति चुनाव हार्दा उहाँहरु आत्तिनुहुन्छ ।

Loading...