गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या

रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको  मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको संलग्नता रहेको देखाएको छ ।

पारिवारिक विवादका कारण छोराले नै गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । छोरा सन्दिप अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी बताउँछ । यसैबीच, मृतकका दाजुले घटनामा मृतकका छोरा सन्दिपको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा किटानी जाहेरी दिएका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोरसाइकल भैरहवा विमानस्थल नजिक फेला परेको छ । गोली हान्ने व्यक्तिको खोजीका क्रममा यूपी ५६एक्स ७४९० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल भेटिएको हो ।

मोटरसाइकलसँगै भेटिएको झोलामा गोली हान्ने व्यक्तिले लगाएको सेतो सर्ट र नीलो पाइन्ट पनि फेला परेको रुपन्देही प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

गोली हानेर कपडा फेरेर अभियुक्त भागेको हुन सक्ने प्रहरीको आशंका गरेको छ । गोली हान्ने व्यक्ति भारततिर भागेको आशंका गरिएको छ ।

यसअघि बुधबार साँझ तिलोत्तमा नगरपालिका–५ राममणि क्याम्पस नजिकै निर्माणाधीन घरको बाहिर खाना पकाउँदै गर्दा २ वटा मोटरसाइकलमा आएका तीन जना व्यक्तिको समूहले धवलमाथि गोली प्रहार गरेका थिए ।

Loading...