अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले गर्यो आगामी वार्ता रद्द

काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरियाले दुर्इ देशकाबीच तय गरिएकाे वार्ता रद्द गरेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबिच बुधबार उच्चस्तरीय वार्ता हुने तयारी थियो ।

अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आउँदो जुन १२ मा हुने तय भएको किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्तामा पनि संका उत्पन्न भएको जनाएको छ । यस्तै अवस्था रहे वार्ताको वातारण बन्नुको साटो बिग्रने उत्तर कोरियाले चेतावनी दिएको छ ।

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबिच बुधबार सीमा क्षेत्रको डिमिलिट्राइज जोन, पानमुनजोममा वार्ता हुने तयारी थियो । यस विषयमा गएको हप्ता मात्रै दुई देशबिच सहमति बनेको थियो । यो वार्ता गएको अप्रिल २७ मा भएको किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिचको वार्ताको फलो अपका रुपमा हेरिएको थियो ।

बुधबारको वार्तामा दुवै देशका प्रमुख नेताबिच भएको वार्तामा बनेका सहमतिलाई अघि बढाउने विषयमा छलफल गर्ने तयारी थियो । पानमुनजोम कोरियाली प्रायद्विपको एउटा मात्रै त्यस्तो क्षेत्र हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सेनालाई देख्न पाइन्छ । यो क्षेत्रमा सन् १९५३ देखि युद्ध विराम लागु छ ।

गएको अप्रिलमा भएको वार्तापछि नेता किम र मुनले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने विषयमा आफूहरु सहमत भएको बताएका थिए । तर अहिले आएर फलोअप वार्ता रद्द हुँदा फेरि समस्या बढ्ने देखिएको छ ।

यस्तै किम–मुन वार्तामा सन् १९५३ को युद्ध विरामलाई शान्ती सम्झौतामा परिणत गर्ने सहमति पनि बनेको थियो । तर अहिले आएर वार्ता नै संकटमा परेको हो । दक्षिण कोरिया र अमेरिकी सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास अहिले गरिरहेका छन् । यसबाट उत्तर कोरिया रुष्ट भएको हो ।

सन् २०१८ लागेसँगै दुई कोरिया तथा उत्तर कोरिया–अमेरिका सम्बन्धमा सुधारका संकेतहरु देखिएका छन् । तर पछिल्लो घटनाक्रमले खतरा बढाएको छ ।

Loading...