ट्रम्पको हठका कारण गाजामा ५५ जनाको मृत्यू, २७ सय घाइते

एजेन्सी । डाेनाल्ड ट्रम्प अमेरिकाकाे इतिहासमै सबैभन्दा विवादित राष्ट्रपतिका रुपमा चित्रित हुँदै गएका छन् । उनले गरेका एकपछि अर्काे काम विवादित बन्दै गएका छन् । यसैक्रममा उनकै हठका कारण गाजामा फेरि हिंसा भड्किएकाे छ । गाजामा भड्किएको हिंसाका कारण कम्तिमा ५५ जनाको ज्यान गएको छ भने हजाराै मानिसहरु घाइते भएका छन् ।

अमेरिकाले जेरुसेलममा आफ्नो दूतावास खोलेपछि सोमबार गाजामा त्यसको विरोधमा प्यालेस्टाइनीले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा इजरायली सेनाले हस्तक्षेप गरेपछि हिंसा भड्किएको हो ।

इजरायली सेनाले आफ्ना ५५ नागरिकको हत्या गरेको प्यालेस्टाइनी अधिकारीले बताएका छन् । घटनामा २७ सय भन्दा बढी मानिस घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले आत्मरक्षाका लागि मात्रै सैन्य गतिविधि गरेको दाबी गरेका छन् ।

गाजामा रहेका इस्लामिस्ट, हमाससहितका पक्षबाट आफ्नो रक्षाका लागि सैन्य गतिविधि भएको नेतान्याहूको भनाई छ । उनीहरुका कारण इजरायलमाथि खतरा रहेको उनले बताए ।

तर प्यालेस्टाइनी अधिकारीले भने इजरायली सेनाले गाजामा गरेको गतिविधि आम नरसंहार रहेको र त्यसको घोर भत्सर्ना गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघले मानव अधिकारको गम्भीर उल्लंघन रहेको बताएको छ ।

जेरुसेलममा अमेरिकाले दूतावास स्थापना गरेको पहिलो दिन नै हिंसा भड्किएको हो । अमेरिकी दूतावास स्थापना भएकोमा प्यालेस्टाइनी रुष्ट छन् । उनीहरु यसलाई जेरुसेलममा इजरायली कब्जालाई मान्यता दिएको रुपमा लिन्छन् ।

जेरुसेलमका बारेमा इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि विवाद रहँदै आएको छ । जेरुसेलमको पूर्वी क्षेत्र आफ्नो रहेको प्यालेस्टाइनको भनाई छ ।

सोमबार अमेरिकाले जेरुसेलममा दूतावासको उद्घाटन गरेको थियो र त्यो कार्यक्रममा अमेरिकी अधिकारीसहित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा ज्वाईं पनि सहभागी थिए । भिडियो मार्फत सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले यो पलको लामो समयदेखि पर्खाई रहेको बताएका थिए । यसको विरोधमा गाजामा प्रशासन चलाउँदै आएको मुस्लिम संगठन हमासले गएको ६ हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको थियो ।

सीमामा रहेको बार तोड्ने प्रयास भएकोले प्रदर्शनकारीमाथि सैनिकले कारवाही गरेको इजरायलको दाबी छ । सोमबार भएको हिंसामा मारिनेमा बालबालिका पनि रहेको हमासको स्वास्थ्य विभागले जनाएको छ ।

Loading...