लामो समयदेखि प्रतिक्षारत बक्स अफिस अब स्थापना हुने पक्का

काठमाडाैं‌ । अागामी साउन महिनादेखि नेपाली चलचित्र उद्याेग बक्स अफिस प्रणालीमा जाने भएकाे छ । पहिलेदेखि नै बक्स अफिस स्थापनाकाे प्रयास हुँदै अाएकाे भए पनि हलका सञ्चालकहरुले अवराेध पुर्याएका कारण हालसम्म पनि याे काम हुन सकेकाे थिएन ।

अब भने नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्स अफिस स्थापना हुने पक्का भएकाे छ । हलका सञ्चालकसहित सबैकाे सहमतिमा याे काम अघि बढने भएकाे हाे । चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको छ । जसअनुसार साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा बक्सअफिस लागू गर्ने सहमति भएको हो ।

दुवै संघले सोमबार एक कार्यक्रम गरी सेयर बाँडफाँड तथा दुवै पक्षले पालना गर्नुपर्ने शर्तका विषययमा जानकारी गराएका छन् । निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षीय सहमतिमा हलमा लागेका फिल्मको टिकट दर तोक्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार अब सिनेमा हलले आफूहरूले प्रदर्शन गर्ने फिल्मको ट्रेलर, ब्यानर, पोष्टर र स्ट्याण्डीसमेतको प्रचार सामाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा दिनुपर्नेछ । मल्टिप्लेक्सले सेयरको रकम प्रत्येक हप्तामा फिल्म प्रदर्शनपश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ ।

सिंगल स्टेसनको हकमा फिल्म उत्रेको दुई हप्ताभित्र भुक्तानी दिनुपर्ने अन्यथा उक्त अवधिभित्र भुक्तानी नभएमा निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले गरेको निर्णयअनुसार हर्जानासहित कारवाहीसमेत गरिने सम्झौता भएको छ । शुक्रबारबाट सिनेमा घरहरूले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च समेत काट्न नपाउने भएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चलचित्र हलहरूमा टिकट दर २ सय ५० अथवा ३ सय वा ३ सय रुपैयाँभन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ । उपत्यका बाहिरको हकमा टिकट दर २ सय अथवा ३ सय वा ३ सय रुपैयाँभन्दा बढी टिकट दर भएका सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

निर्माता र प्रदर्शकबीच मल्टिप्लेक्स हलहरूले सेयर बाँडफाँडमा पहिलो साता ५० प्रतिशत, दोस्रो साता ४५, तेस्रो साता ४०, चौथो हप्तादेखि ३५ प्रतिशत रकम निर्माता वा वितरकले पाउने सम्झौता भएको छ । सिंगल हलको हकमा भने नेट सेयर बाँडफाँड ५०÷५० प्रतिशतको आधारमा हुने भएको छ । यस्तै, उपत्यकाभित्र गोपीकृष्ण मुभिजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बाराही मुभिजको क हललाई मल्टिप्लेक्स सरहको सेयर बाँडफाँड गरिनेछ । उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराहीको क र ख हललार्ई मल्टिप्लेक्स सरहको सेयर बाँडफाँड गरिने चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनुपर्नेछ ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सरकारले लिएको नीतिलाई आत्मसात गरी अब सबै पक्षलाई वीन–वीन अवस्थामा सहमति भएको बताए । अब यो सम्झौतालाई कार्यान्वयनको पक्षमा जोडदारका साथ लाग्ने उनले बताए । यो सम्झौतासंगै सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यापारमा जानु पर्नेछ । चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनुपर्नेछ । वितरकले सेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनुपर्नेछ । नेपालमा बर्सेनि झन्डै सयको हाराहारीमा फिल्म निर्माण हुने गरेका छन् ।

के हो बक्स अफिस ?

चलचित्र क्षेत्रको वास्तविक कमाइको एकीकृत विवरण देखाउने प्रणाली नै बक्स अफिस हो । यो प्रणाली लागू भएपछि कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्यांक लिन सकिन्छ । अनलाइनबाटै पासवर्ड वा युजर कोडका आधारमा सम्बद्ध व्यक्तिले आफ्नो चलचित्रको टिकट बिक्रीका विषयमा जानकारी लिन सक्छन् । सबै शोको बारेमा निर्माता वा वितरकले अनलाइबाटै जानकारी लिन सक्नेछन् ।

Loading...