निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख

काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको घाटा त्यति पुगेको पाइएको छ ।

निगमले यसबीचमा यस्तै जहाजहरू एक थान एमए–६० र तीन थान वाई–१२ ई थपेको छ । अहिलेकै अवस्थामा घाटा बढ्दै गएमा आगामी वर्ष निगमलाई यी चिनियाँ जहाज उडानबाटमात्रै १ अर्बभन्दा बढी घाटा हुने आकलन गरिएको छ । आन्तरिक उडान गर्ने भनेर तामझामसहित भिœयाइएका ६ थान चिनियाँ जहाज सञ्चालनको घाटाले अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानी यसैका लागि बेहोर्दैमा ठिक्क हुने देखिएको छ ।

निगमले गत वर्ष एकथान एमए–६० बाट २४ करोड ८६ लाख ६३ हजार ९ सय ७० रुपैयाँ नोक्सानी बेहोरेको छ भने वाई–१२ ईबाट गत वर्ष ८ करोड ९७ लाख ३१ हजार ६९ रुपैयाँ घाटा बेहोरेको प्रतिवेदनमा उल्लेख छ ।

५६ सिट क्षमताको एमए ६० जहाज सञ्चालन आम्दानी १७ करोड ४६ लाख ६ हजार ७ सय ७३ रुपैयाँ रहेको छ भने यसको सञ्चालन खर्च २४ करोड १३ लाख ४२ हजार ७ सय २१ रुपैयाँ देखिन्छ । यसको सञ्चालन घाटा ६ करोड ६७ लाख ३५ हजार ९ सय ७४ रुपैयाँ रहेको छ । निगमले यमसा अप्रत्यक्ष खर्च भनेर १८ करोड रुपैयाँ ८१ लाख २७ हजार ९ सय ८६ रुपैयाँ उल्लेख गरेको छ ।

यस्तै, १७ सिट क्षमताको वाई–१२ ई जहाजमा गत वर्ष सञ्चालन आम्दानी १ करोड ५५ लाख ८५ हजार ४ सय ६६ रुपैयाँ छ । यसको सञ्चालन खर्च ५ करोड ५० लाख ६ हजार ७ सय ५४ रुपैयाँ लेखापरीक्षणमा देखिन्छ । जसबाट सञ्चालन घाटा ३ करोड ९४ लाख २१ हजार २ सय ८८ रुपैयाँ पुगेको छ । यसका लागि अप्रत्यक्ष खर्च ५ करोड ३ लाख ९ हजार ७ सय ८० रुपैयाँ रहेको उल्लेख छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले चिनियाँ जहाजमा पाइलट तथा स्पेयर्स पार्ट्सको अभावका कारण समयमा उडान गर्न नसक्दा घाटा बेहोर्नु परेको बताउँदै आएका छन् । केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राखेको समीक्षा बैठकमा चिनियाँ जहाजमा पाइलट तथा स्पेयर्स पार्ट्समा समस्या रहेकोले दिन प्रतिदिन घाटा बढ्दै गएको कंसाकारले विभागीय मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले उत्पादन गरेको वाई–१२ ई सिरिजका जहाजमार्फत दुर्गम क्षेत्रमा उडान गर्ने लक्ष्य राखिए पनि सुगममै उडान गर्न पनि पाइलटको अभाव छ । निगमसँग हाल चिनियाँ जहाज ६ थान र ट्वीनटर २ थान गरी आन्तरिक उडानका लागि ८ वटा जहाज छन् । निगमले धमाधम चिनियाँ जहाज ल्याएपनि पाइलट तथा स्पेयर्स पार्ट्स अभावका कारण प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ ।

दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई–१२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान गरिरहेको छ । यो जहाज खासगरी हुम्ला, सिमकोटलगायत क्षेत्रमा उडान गराउने लक्ष्य राखिएको थियो । मन्त्री अधिकारीले भने एक सय दिनको कार्यक्रमभित्र ६ वटै चिनियाँ जहाजले उडान भर्ने बताएका थिए । एक सय दिन पुग्न अब धेरै समय बाँकी नरहेकाले चिनियाँ जहाज उडाउने कुनै तयारी पूरा भने भएको छैन ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलव्ध गराइएको हो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

Loading...