डोल्पामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

डोल्पा । डोल्पाको मुड्केचुलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजधानी काठमाडौं र कोहलपुर मेडिकल कलेजबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

दुर्गम कर्णालीमा स्वास्थ्य सुविधाको अभावमा मानिसहरु उपचार नै नपाउने समस्या देखिएपछि विशेषज्ञहरुको टोली लिएर यो स्वास्थ्य शिविर सम्पन्न गरिएको बताइएको छ । डोल्पाका गाउँमा हेल्थ पोष्टहरुको व्यवस्था भए पनि स्वास्थ्यकर्मी, औषधी र अन्य उपकरणहरु नभएका कारण सर्वसाधारणले उपचार सेवा पाउन सकेका छैनन । यातायातको समेत पहुँच नभएको कारण सर्वसाधारणले डोल्पामा स्वास्थ्य लगायत अन्य सेवा पनि पाउन सकेका छैनन ।

नेपाल एकिकृत महिला सेवा केन्द्रले विशेषज्ञहरुको टोलीसहित स्वास्थ्य उपकरण र औषधीहरु पठाएर यो शिविर सम्पन्न गरेको हो । बैशाख २४ र २५ गते मुड्केचुला गाउँपालिकाको नर्कुमा सम्पन्न भएको शिविरमा करिव ३५० जना डोल्पावासीले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । शिविरमा पाठेघरको समस्या भएका विरामीहरुको संख्या अत्यधिक रहेको स्वास्थ्यकर्मी जानुका मल्लले जानकारी दिइन ।

कोहलपुर मेडिकल कलेजका नाक, कान, घाँटी, दाँत विशेषज्ञ डा. गणेश न्यौपाने, स्त्रि रोग विशेषज्ञ डा. निमा सिंह र डा. दिप्ती सिंह, अ.हे.व. जानुका मल्लसहितको स्वास्थ्यकर्मीहरुको टोली चार दिन लगाएर डोल्पा पुगेको थियो ।

शिविरका लागि मुड्केचुला गाउँपालिकाले सबै व्यवस्थापन गरेको थियो ।

Loading...