देशको छातीमा मोदीलाई ओलीले हतियारसहित परेड खेलाएको भन्दै नेकपाको आपत्ती

काठमाडौँ, २८ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा भारतले नेपालको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा निम्त्याएको बताएको छ । सुरक्षा खतराको नाममा सयौंको संख्यमा भारतीयले सेना जनकपुर, काठमाडौँ र मुस्ताङमा हतियारसहित परेड खेलेर मोदी सरकारले कुटनैतिक सिद्धान्तको उलंघन गरेको बताएको छ ।

पार्टीका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको सुरक्षा खतराको नाटक गरेर भारतीय सेनालाई नेपालीभूमिमाथि मार्च पास गर्न लगाएको बताएका छन् ।

“सुरक्षा खतराको कलाविहिन नाटक गरेर प्रधानमन्त्री मोदीले भारतीय सेनाको सयौंको संख्यामा शक्तिलाई आधुनिक सैन्य उपकरण सहित जनकपुर, काठमाण्डौं र मुस्ताङ्गमा मार्च गराई राखेका छन । सुरक्षा चुनौंतीको आवरणमा मोदी सरकारले कुटनैतिक सिद्धान्तको मात्र उलंघन गरेको छैन कि नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गर्न गएको छ । यसले देशको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिएको छ । हाम्रो देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको छ” प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले भारतीय सेनाको नेपालीभूमिमा ताण्डव देखाइरहँदा नबोल्दा प्रधानमन्त्री ओलीलेको राष्ट्रवाद पाखण्डीे भएको पुष्टि भएको र अहिले चिहानमा पुरिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासलाई उछिन्ने गरी मोदीसँग राष्ट्रघाति सम्झौता गर्न लागेको भन्दै प्रबक्ता प्रकाण्डले स्वाभिमान र आफ्नो अधिकारको लागि संघर्षमा उत्रन सबैलाई अपील समेत गरेका छन् ।

विहीबार साँझ जारी विज्ञप्तिमा प्रबक्ता प्रकाण्डले नेपालको प्रकृतिका साधन, स्रोतमाथि जनताको अधिकारविरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसपर्ण नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । बल मिच्याई गरे पाच्य नहुने भन्दै परिणाम गम्भीर हुने बताएका छन् ।

“प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहान्छ । बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट गर्न चाहान्छ” विज्ञप्तिमा उल्लेख छ ।

मोदीलाई सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ ।

विज्ञप्तिको पूर्णपाठः

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तालीकामा नेपालको के.पी. ओली सरकारले ल्याप्चे लगाए पछि २ दिनको निम्ति मोदी भोली नेपाल आउदै छन । दुई दिन नेपाल रहँदा नेपालको राष्ट्रिय हित र स्वाधिनताका विरुद्ध हुने गोप्य र खुला सहमति एवं सम्झांैताबारे पार्टीको धारणा सार्वजनीक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।

१. सन् १९५० देखि अपर कर्णाली र अरुण तेश्रो सम्झौंतासम्म नेपाल र भारतका शासक वर्ग बीच भएका सन्धी र सम्झौताहरु नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको हितविरुद्ध रहेका छन् । आफ्नो देशको सार्वभौमिकता र आफ्नो हित विपरित दुई देशका शासक वर्गले आफ्नो सत्ता र कूर्सीको स्वार्थ केन्द्रीत गरेका असमान सन्धी र सम्झौंताविरुद्ध नेपाली जनताले अनवरत संघर्ष गर्दै आएका छन । जसको परिणाम सम्झौंताकर्ताले सम्झौंताको बेलगाम कार्यन्वयन गर्न सकेनन् । अपर कर्णाली र अरुण तेश्रो परियोजना कार्यन्वयन नहुनु त्यसको परिणाम हो । अहिले आएर फेरी मोदी र ओलीले संयुक्त उद्घाटन गर्ने रणनीति बनाएका छन् ।

हाम्रो पार्टी यसको घोर विरोध गर्दछ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहान्छ । बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट गर्न चाहान्छ ।

२. सुरक्षा खतराको कलाविहिन नाटक गरेर प्रधानमन्त्री मोदीले भारतीय सेनाको सयौंको संख्यामा शक्तिलाई आधुनिक सैन्य उपकरणसहित जनकपुर, काठमाडौं र मुस्ताङ्गमा मार्च गराई राखेका छन् । सुरक्षा चुनौंतीको आवरणमा मोदी सरकारले कुटनैतिक सिद्धान्तको मात्र उलंघन गरेको छैन कि नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गर्न गएको छ । यसले देशको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिएको छ । हाम्रो देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको छ ।

देशको छातीमा भारतीय साम्राज्यवादी शासक र उसको सेनाले ताण्डव नृत्य चलाइरहदा प्रधानमन्त्री ओलीको कथित राष्ट्रवाद पाखण्डीे र त्यो अहिले चिहानमा पुरिएको देखिन्छ । नत्र ओली सरकार किन चुइक्क बोल्दैनन् र सुतूरमुर्ग झै मोदीको पिछलगु भैराखेको छ ? यसर्थ मोदीको सैन्य हर्कतको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । भारतीय सैन्य फोर्स यथाशिघ्र फिर्ता गरी नेपाली सुरक्षा व्यवस्था कायम गर्न ओली सरकारलाई पार्टी आग्रह गर्दछ ।

३. गत वैशाख २० गते कंचनपुर जिल्ला पूर्नवास गाउँमा जनताले नेपाली भूमिभित्र नहर खन्दा भारतीय सुरक्ष बलले नेपाली भूमिमा प्रवेश गरी जनतामाथि गरेको हस्तक्षेप र ४ जना युवा विद्यार्थीलाई गरेको गिरप्तारीको हाम्रो पार्टी कडा विरोध गर्दछ । आगामी यस्तो गल्ती नगर्न सम्बन्धीत पक्षलाई कडा चेतावनी पनि दिन चाहान्छ ।

४. माओवादी कम्युनिस्ट पार्टीको नेतृत्वमा भारतीय श्रमजीवी जनताले विगत देखि संचालन गरिराखेको जनयुद्धका विरुद्ध मोदी सरकारले चलाएको अप्रेशन, हत्या, आतंक र दमनको हाम्रो पार्टी कडा विरोध गर्दछ । भारतीय माओवादी र जनतामाथिको पासविक दमन तुरुन्त बन्द गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।

५. नेपाल राष्ट्रको सार्वभौमिकता एवं स्वाधिनता र नेपाली जनताको स्वाभिमान एवं हित भारतीय शासक वर्गको हस्तक्षेपकारी चरित्र र नेपालका शासक वर्गको आत्मसमर्पणवादी, पाखण्डी, दलाली र नालायकीपनाका कारण सन् १९५० देखि पटक–पटक भारतीय शासक वर्गको अतिक्रमण र नेपालका शासक वर्गको राष्ट्रघात तथा जनघातको सिकार हुन पुग्यो । अहिले आएर मोदी र ओलीको बीचमा हुने सहमती र संझौता इतिहासलाई उछिन्ने गरी राष्ट्रघाती र जनघाती हुने कुरामा दुई मत छैन । यसको चौतर्फी निन्दा, विरोध, भण्डाफोर र संघर्षमा उत्रिन राष्ट्रप्रेमी, स्वाभिमानी र आफ्नो अधिकारका पक्षधर आम नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
धन्यवाद ।

प्रकाण्ड
प्रवक्ता

नेपाल कम्युनिस्ट पार्टी

२७ बैशाख, २०७५

Loading...