सि जिनपिङ विश्वकै सबैभन्दा शक्तिशाली, फोर्ब्सको सूचीमा ट्रम्प तेस्रो

काठमाडौं, २७ बैशाख । सन् २०१८ को शक्तिशाली व्यक्तिहरूको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ पहिलो नम्बरमा परेका छन्।

विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरूको सूची निकाल्ने चर्चित पत्रिका फोब्र्सले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।

चार पटकसम्म शीर्ष स्थानमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी जिनपिङ पहिलोपटक प्रथम स्थानमा पर्न सफल भएका हुन्। विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प भने फोब्र्सको सूचीमा तेस्रो स्थानमा परेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फोब्र्स सूचीमा नवौं स्थानमा परेका छन्। फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाई समेत पछि पार्दै मोदी नवौं स्थानमा पर्न सफल भएका हुन्।

राजनीतिज्ञहरूमा ट्रम्पपछि सबैभन्दा धेरै ट्वीटर फलोअर भएका मोदीको प्रभाव भारत लगायत विश्व जगतमा पनि उत्तिकै रहेको फोब्र्सले उल्लेख गरेको छ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथोमा झरेकी छन्।

७५ जनाको सूचि सार्वजनिक गरेको फोब्र्सले पृथ्वीको ७ अर्बभन्दा बढी मानिसमध्ये यी व्यक्तिहरूको प्रभाव सबैभन्दा बढी रहेको उल्लेख गरेको छ। बोली र कामले मानिसमा पार्ने प्रभावका आधारमा यी शक्तिशाली व्यक्तिहरूको छनौट गरिएको फोब्र्स पत्रिकाले जनाएको छ।

यस वर्षको सूचीमा १७ नयाँ नाम परेका छन्। जसमा सबैभन्दा अगाडि साउदी अरबका राजकुमार मोहोम्मद बिन सलमान आठौँ स्थानमा आउन सफल भएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको नाम पनि पहिलोपटक यस सूचीमा पहिलोपटक आएको छ। उनी ५४औं स्थानमा परेका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले ३६ औं स्थान प्राप्त गरी आफ्नो दक्षिणी छिमेकी समकक्षीलाई पछाडी पारेका छन्। फ्रान्सका म्याक्रोन १२ औं स्थानमा आएका छन् भने जापानी प्रधानमन्त्री ३८ औं स्थानमा परेका छन्। द्वन्द्वग्रस्त सिरियाका राष्ट्रपति बसर अल अस्सद पनि ६२औं स्थान ल्याउँदै फोब्र्सको सूचीमा परेका छन् ।

भारतीय व्यापारी मुकेश अम्बानीसहित धेरै व्यापारी फोब्र्सको सूचीमा परेका छन्। जसमा अनलाइन सपिङ वेबसाइट एमेजनका मालिक र हाल विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोज सबैभन्दा अगाडि रहेका छन्।

फेसबुकका कार्यकारी अध्यक्ष मार्क जक्करबर्ग १३ औं स्थानमा परेका छन् भने एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कुक फोब्र्सको सूचीमा २४औं स्थानमा छन् ।

Loading...