अमेरिकामै पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गरे ट्रम्पवादको विरोध (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका छन् । अमेरिकाको तीन दिने भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका हुन् । राष्ट्रवाद र आइसोलेसनिजम् दुवै विश्वव्यापी समृद्धिका लागि घातक र चुनौतिपूर्ण रहेको म्याक्रोनले बताए ।

म्याक्रोनको भाषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिले अमेरिका भन्ने नीतिमाथिको सुरुवाति आक्रमण रहेको विश्लेषण गरिएको छ । उनले सम्बोधनको क्रममा भने, ‘भिन्न रहनु, सकैलाई छुट्याउनु वा राष्ट्रवाद हामीमा भएको डर अस्थायी रुपमा भगाउने माध्यम बन्न सक्छ । तर विश्वका लागि वा अरु देशका लागि आफ्नो ढोका बन्द गरेर विश्वलाई अघि बढ्नबाट रोक्न सकिँदैन । राष्ट्रवाद र अलगवादले देशका नागरिकको डरलाई कम गर्नुको साटो बढाउँछ । अति राष्ट्रवादको उन्मादका कारण विश्वको आशलाई हामी मार्न सक्दैनौँ ।’

अमेरिकी राष्ट्रपति ट्रम्प तथा अरु विभिन्न राजनीतिक भेटवार्तापछि म्याक्रोनले अमेरिकी संसदको संयुक्त सत्रलाई संबोधन गरेका हुन् । म्याक्रोनको भाषणलाई ट्रम्पको नीतिमाथिको प्रहारको रुपमा विश्लेषण गरिए पनि दुई नेताबिचको सम्बन्ध निकै राम्रो रहेको बताउने गरिएको र देखिँदा पनि यस्तै देखिन्छ ।

तर म्याक्रोन र ट्रम्पबिच अन्तर्राष्ट्रिय व्यापार, ईरानसम्बन्धी मुद्धा, जलवायु परिवर्तनसहितका धेरै मुद्धामा समानता छैन । म्याक्रोन सम्बोधनका लागि जाँदैगर्दा अमेरिकी सांसदले तीन मिनेटसम्म उठेर ताली बजाएका थिए ।

सम्बोधनको सुरुमा अमेरिका र फ्रान्स बिचको सम्बन्धको कुरा गरेका म्याक्रोनले यो टुटाउनै नसक्ने खालको रहेको बताए । उदारता, सहनशीलता र समान अधिकारको आडमा रहेको सम्बन्ध भएकाले कहिले नटुट्ने उनको भनाई थियो ।

त्यसपछि उनले अरु कुरा बोल्न थाले । ५० मिनेट लामो सम्बोधनको क्रममा म्याक्रोनले अमेरिकाले पेरिस जलवायु सम्झौता फेरि स्वीकार गर्नेमा आफू आशावादी रहेको बताए । यस्तै उनले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता फ्रान्सले नतोड्न पनि वाचा गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरिसकेका छन् भने ईरानसँगको परमाणु सम्झौता पनि भंग गर्ने चेतावनी दिँदै आएका छन् । म्याक्रोनले भने अर्को उचित विकल्प तयार नभई सम्झौता तोड्न नहुनेमा जोड दिए ।

यस्तै अहिले मानवको बसोबास रहेको पृथ्वी समस्यामा पर्दै गएको र त्यसका लागि पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अमेरिका सम्झौतालाई फेरि पुनरागमन गर्नेमा आशावादी रहेको बताए ।

म्याक्रोनको सोम्बोधनमा प्रतिक्रिया दिँदै डेमोक्र्यातिक पार्टीका वरिष्ठ सांसद एडम स्किफले समाचार संस्था एएफपीसँग भनेका म्याक्रोनले आफूहरुले आश गरे भन्दा सीधा रुपमा ट्रम्पको विरोध गरेको बताए । यस्तै रिपब्लिक पार्टीका जेफ फ्लेकले म्याक्रोनको सम्बोधन ट्रम्पवाद भन्दा उल्टो रहेको बताए ।

म्याक्राेनकाे सम्वाेधनकाे पूरा भिडियाे यस्ताे छ 

Loading...