किम जोङ उन र ट्रम्पबीच भेटघाट मिलाउन उत्तर कोरियामा अमेरिकी विदेशमन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मिती र स्थान तय भएको भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर अबको केही हप्ता भित्रै ट्रम्प र किमबिच ऐतिहासिक वार्ता हुनेछ ।

वार्ताको तयारीका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच गोप्य रुपमा धेरै पटक छलफल भएको बताइने गरेको छ ।

यसअघि गएको महिना त्यसबेला अमेरिकी गुप्तर विभाग सिआइएको निर्देशक रहेका बेला माइक पोम्पेओले गोप्पे रुपमा उत्तर कोरिया गएर नेता किमसँग भेटवार्ता गरेका थिए ।

अहिले विदेश मन्त्री रहेका पोम्पेओ वार्ताको अन्तिम तयारीका लागि फेरि उत्तर कोरिया गएका छन् । यसपटकको उत्तर कोरिया भ्रमणले ट्रम्प–किम वार्ताको अन्तिम तयारी गर्ने पोम्पेओले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वार्तामा उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रियाले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । यसैको तयारी र वार्ताका अरु योजनाको अन्तिम तयारीका लागि पोम्पेओ उत्तर कोरिया जाएका हुन् ।

पोम्पेओले यसपटकको उत्तर कोरिया भ्रमणको क्रममा त्यहाँ बन्दी रहेका तीन अमेरिकी नागरिकको रिहाका सम्बन्धमा पनि पहल गर्ने छन् ।

यससम्बन्धमा उत्तर कोरियाले सही निर्णय लिनेमा आशावादी रहेको उनले बताएका छन् । १७ महिनादेखि बन्दी रहेका तीन अमेरिकीलाई रिहा गर्न आफूहरुले माग गरिरहेको उनले मंगलबार जानकारी दिएका छन् ।

गएको अप्रिलमा भएको आफ्नो उत्तर कोरिया भ्रमणले दुई देशबिच राम्रो सम्बन्धको आधार तयार भएको बताएका थिए । त्यस क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गरेका थिए, जुन भेट सन् २००० यता अमेरिका र उत्तर कोरियाबिच भएको उच्चस्तरको भेट थियो ।

यसपटक पोम्पेओसँगै अमेरिकी विदेश मन्त्रालयका अधिकारी पनि उत्तर कोरिया जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग सम्बन्ध बिस्तार हुँदै गएको बताएका छन् । आफू र किमबिचको वार्ता समग्र विश्वकै लागि राम्रो कुरा रहने ट्रम्पले बताएका छन् ।
उत्तर कोरियाले दक्षिण कोरियाका अधिकारी मार्फत पठाएको प्रत्यक्ष वार्ताको प्रस्ताव गएको अप्रिलमा ट्रम्पले स्वीकार गरेका हुन् । त्यसपछि वार्ताको तयारी सुरु भएको हो ।

उत्तर कोरियाका नेता किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग भेटवार्ता गरिसकेका छन् भने चीनको भ्रमण पनि गरेका छन् । किम एक महिनाअघि गोप्य रुपमा चीन गएका थिए भने पछिल्लो पटक पनि चीन पुगेका छन् ।

Loading...