पुटिनले लिए चौथो कार्यकालका लागि शपथ लिए

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् ।

रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए ।

शपथ लगत्तै पुटिनले आफ्नो चौथो कार्यकालमा रुसको अर्थतन्त्रलाई ‘पुनर्जिवन’ दिने बताएका छन् । ‘मलाई लाग्छ मेरो कर्तव्य रुसको वर्तमान र भविष्यका लागि हरेक सम्भव कुरा गर्नु मेरो उद्देश्य हो,’ सोमबारको शथप ग्रहण समारोहमा हातमा रुसी संविधान लिएका पुटिनले भने, ‘हामीले हाम्रो मातृभूमिमा गर्व पुर्नस्थापित गर्‍यौं ।’ उनले राष्ट्राध्यक्षका रुपमा आफूले देशको क्षमता, सद्भाव र नामका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रुसी टेलिभिजनले ६५ वर्षीय पुटिन क्रेमलिनको कार्यालयबाट हिंडै बाहिर निश्किएको दृष्य प्रसारण गरेको थियो । त्यसलगत्तै उनी रुसमा निर्मित लिमोजिन गाडी (कर्टेज) चढेर शपथ ग्रहण स्थलतर्फ गएका थिए ।

यसअघि सन् २०१२ को सपथ ग्रहण समारोहमा पुटिन ठूलो मोटरकेड सहित सपथ ग्रहण समारोहमा गएका थिए । उनको शासनविरूद्ध शनिबार राजधानी मस्को तथा अन्य प्रमुख शहरमा प्रदर्शनहरु भएका थिए ।

प्रदर्शनका क्रममा विभिन्न १९ शहरमा झडपहरू समेत भएका थिए । रुसी प्रहरीले करिब १ हजार १ सय प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । युरोपेली संघले रुसी प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको तथा ठूलो संख्यामा पक्राउ गरेको भन्दै विरोध जनाएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार थप विरोध प्रदर्शनहरु हुने आशंकामा पनि उनले चौथो कार्यकाल औपचारिक थालनी गर्दा विगतका सामान्य कार्यक्रम गरिएको जनाएका छन् । पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहिआएका छन् ।

विरोधीहरूले पुटिनको कार्यकाललाई ‘जार’ वा ‘सम्राट’ को शासनजस्तो भएको बताउँछन् । उनले गत मार्चमा भएको निर्वाचनमा करिब ७७ प्रतिशत मतसहित राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

रुसी प्रतिपक्ष दलका नेता एलेक्सी नाभाल्नीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाईएपछि उनीमाथि पश्चिमा शक्तिले पनि निरन्तर निरंकुशतातर्फ उन्मुख हुँदै गएको आरोप लगाउने गरेका छन् ।

तर हालै गरिएको सर्वेक्षणमा ज्याला, निवृत्तिभरण तथा सेवासुविधामा वृद्धि गरेकाले पुटिन विगतका वर्षका तुलनामा थप लोकप्रिय बनेको उल्लेख छ । लामो समयदेखि शासनसत्ता सञ्चालन गरिरहेको भएपनि पुटिनलाई अधिकांश रुसी जनताले निकै रूचाउने गरेका छन् ।

पुटिन सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निवार्चित भएका थिए । दोश्रोपटक २००४ मा राष्ट्रपति बनेका पुटिन दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधानका कारण २००८ मा दिमित्री मेद्भेदेभलाई राष्ट्रपति बनाई प्रधानमन्त्रीका रूपमा कार्य गरे ।

संविधान संसोधन मार्फत राष्ट्रपतिय कार्यकाल ६ वर्षे बनाएलगत्तै उनी २०१२ पुन राष्ट्रपति बने । आगमी ६ वर्षका लागि सोमबार शपथ लिएका पुटिन चौथो कार्यकालको अन्त्यमा सत्तामा रहेको २५ वर्ष हुनेछ ।

उक्त समयसम्म उनी रुसमा लामो समयसम्म शासन गर्ने नेतामध्यमा पर्नेछन् । यद्यपी, रुसमा स्टालिनले ३१ वर्ष, निकोलास प्रथमले ३० र एलेक्जेण्डर द्वितीयले २६ वर्षसम्म शासन गरेका थिए ।

Loading...