सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

काठमाडौं, २४ बैसाख ।

सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए ।

सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताए ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन् ।

मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए । पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । पर्यटन विभागको तथ्यांकअनुसार चार वटा नेपालीका २० जना आरोहमध्ये १५ जना महिला छन् ।

Loading...