फुटपाथमा व्यापार निषेध गर्दै महानगर

 

काठमाडौं, २३ बैशाख । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ । यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएकाे छ । ‘शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको तथा पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था अाएको’ भन्दै महानगरपालिकाले साँझको समयमा चल्दै अाएकाे फुटपाथ व्यापार राेक्न लागेकाे हाे । फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए । फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारवाही हुने जानकारी दिँदै उनले भने, ‘अटेरी गर्नेकाे सामान जफत हुनेछ र जफत सामान पुनः फिर्ता दिइनेछैन । यसरी जफत गरेकाे सामान लिलामीमार्फत बिक्री गरिने समेत उनले बताए । अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको सामान जफत गरेपछि परिमाणअनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर महानगरपालिकाले छोड्दै आएको छ । तर अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको उनकाे भनाइ छ ।
काठमाडौंको रत्नपार्क, कलंकी, नयाँबसपार्क, कोटेश्वर, गौशालालगायतका स्थानमा फुटपाथ व्यापार अधिक हुने गरेकाे छ । यस्तै जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कालीमाटी, गोंगबु, सुन्धारा, न्यूरोडलगायतका क्षेत्रमा पनि फुटपाथ ब्यापार मौलाएको छ । तर अब सरकारले कडाइ गरेसँगै फूटपाथ व्यापारीहरूले विकल्प खाेज्नुपर्ने भएकाे छ ।

 
Loading...