ज्ञापनपत्र बोकेर वीना मगर आफै आएपछि प्रधानमन्त्री ओली तिनछक

काठमाडौं, २१ बैसाख ।

बिहिबार हातमा ज्ञापन पत्र बोकेर वीना मगर आफै आएको देखेर प्रधानमन्त्री केपी ओली एकछिन तिनछक परे ।  खानेपानी मन्त्री मगर सीमाक्षेत्रमा भारतीयपक्षबाट बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्रीकहाँ पुगेकी हुन ।

पाँच बुँदे माग बोकेर मन्त्री मगरसहित, पूर्वमन्त्री लेखराज भट्ट, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्य दिपकप्रकाश भट्ट,प्रतिनिधिसभा सदस्य नरबहादुर धामी,प्रतिनिधिसभा सदस्य निरुदेवी पाल, प्रतिनिधिसभा सदस्य निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, राष्ट्रियसभा सदस्य हरिराम चौधरीलगायतका नेताहरु प्रधानमन्त्री कहाँ पुगेका हुन् ।

ज्ञापनपत्रमा भारतीय सुरक्षाकर्मीले भत्काएको पुनर्वास नगरपालिका वडा नं। ९ बीचफाँटा क्षेत्रमा तत्काल सीमा सर्भे टोली खटाएर ७ दिनभित्र तारबार गर्ने व्यवस्था मिलाउन कुटनीतिक पहल गर्न, कैलाली र कञ्चनपुरमा सीमा सर्भे गर्न खटिएको टोलीको म्याद सकिनै लागेकाले त्यसको म्याद तत्काल थप गर्न माग गरिएको छ ।

यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : ज्ञापनपत्र

ऐतिहासिकरुपमा नेपालको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सामरिक, आर्थिक तथा राजनैतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दै आएको प्रदेश नम्बर ७ अन्तर्गतको तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लाको दक्षिणी र पश्चिमी सीमाका साथै डडेल्धुरा, बैतडी र दार्चुला (लिपुलेक, कालापानी) लगायत भारतसँग जोडिएको सन्दर्भमा स्थानीय स्तरमा सीमासम्बन्धी विवादको वैज्ञानिक किसिमले हल हुन नसक्दा बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको सम्माननीय प्रधानमन्त्री ज्यूलाई स्मरण गराउन चाहन्छौं ।

हालै, कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ पुनर्वास नगरपालिका वडा नं. ९ बीचफाँटाका स्थानीय जनताले भारतको दुधुवा नेशनल पार्कबाट हात्तीको आक्रमण र जंगली जनावरबाट हुने नोक्सानीबाट जोगिन सोलार तारबार जडान गरेपछि भारतीय पक्षले उक्त जग्गा आफ्नो भएको दावी गर्दै एकतर्फी रुपमा तारबार भत्काएपछि स्थिति तनावग्रस्त भएको छ ।

दुधुवा पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ २१ गते बीचफाँटाकै मनबहादुर सुनारको मृत्यु भएको थियो । त्यसपछि हात्तिलाई रोक्न सीमा क्षेत्रको नेपालपट्टि सोलार तारबार गर्ने काम हुँदै आएको हो । दुधुवा नेसनल पार्कबाट आउने हात्तीको आक्रमणबाट जोगिन स्थानीय जनता र सरकारको प्रयासमा विगतदेखि नै उक्त तारबार डोकेबजारसम्म पु¥याउने योजना अनुसार तारबार लगाइएपछि भारतीय पक्षले अनावश्यक दावी गर्दै नेपालीलाई धम्क्याउने र आक्रमणमा समेत उत्रिएको जानकारी गराउन चाहन्छौं ।

सीमा सर्भे टोलीले सीमा क्षेत्रको एकिन नगरेको कारण प्यारातालदेखि अन्य क्षेत्रमा पटक–पटक विवाद सिर्जना हुँदै आएको छ । सीमा सर्भेको काम सुरु भएर पटक–पटक स्थगित र अवरुद्ध हुँदै आएको छ । घटना भएको क्षेत्रका बारेमा नेपाली पक्षले दशगजा क्षेत्रभित्रै विगतकै कामलाई निरन्तरता दिएर तारबार जडान गर्न खोजेको भएपनि भारतीय पक्षले नेपाली भूमिलाई आफ्नो भनेपछि विवाद सिर्जना हुँदै आइरहेको छ ।

कैलाली र कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षबाट नेपाली पक्षमाथि अतिक्रमणका घटना नौलो होइन । कतिपय अवस्थामा भारतीय सुरक्षाकर्मीको संरक्षणमा भारतका अतिक्रमणकारीले नेपाली वस्तीमा आएर धम्क्याउने, कुटपिट गर्ने, जग्गा कब्जा गर्ने, नेपाली भूमिमा ट्रयाक्टर चलाउने समेतका घटनाहरू सामान्य बनेका छन् । सीमा क्षेत्रमा हुने विविध खाले हस्तक्षेपविरुद्ध स्थानीय जनताले प्रतिकार समेत गर्दै आएका छन् । यस्तै, प्रतिकारका क्रममा पुनर्वास नगरपालिका अन्तर्गतको आनन्दबजारमा गत वर्ष बैशाख १३ गते भारतीय सुरक्षाकर्मीको फौजी हस्तक्षेप र गोली प्रहारबाट १ जना नेपाली युवा गोविन्द गौतमको शहादत समेत हुन गएको थियो ।

हालसालै पनि पुनर्वासको बीचफाँटामा भारतीय पक्षबाट अनावश्यक रुपमा सिर्जना गरिएको विवाद स्थानीय स्तरमा भएका प्रयास र छलफलबाट समाधान हुन सकेन । जसले गर्दा संघीय सरकारले तत्कालै कुटनीतिक पहल गरी तारबार लगाउन दिने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । अन्यथा, स्थानीय वासिन्दाको आक्रोश बढ्दै गएर अप्रिय घटना हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन ।

कञ्चनपुर र कैलाली जिल्लाको पश्चिमी र दक्षिणी सीमा क्षेत्रमा देखिने विवादका सम्बन्धमा स्थानीय प्रशासनका तर्फबाट समकक्षी भारतीय पक्षसँग संवाद र छलफल गरिएपनि भारतीय पक्षबाट हुने ज्यादतीमा कुनै कमी आएको देखिन्न । सीमा व्यवस्थापनका लागि दुबै क्षेत्रका स्थानीय प्रशासनको सहमतिमा सर्भे टोली खटिएपनि भारतीय पक्षबाट हुने ज्यादती बढ्दै गएकाले सीमा समस्याको समाधान स्थानीय प्रशासनको तहबाट हुन नसक्ने देखिएकाले नेपाल सरकारका तर्फबाट नै भारतीय सरकारसँग गम्भीरतापूर्वक पहल हुनुपर्ने हाम्रो निष्कर्ष छ ।

त्यसैले हामी कैलाली र कञ्चनपुर क्षेत्रका आम सर्वसाधारण नेपाली जनताको तर्फबाट सरकारसमक्ष यो विषयलाई २ देशबीच कुटनीतिक तहबाट संवाद गरी समस्याको समाधानका लागि तत्काल पहल गर्न माग गर्दछौं । भारतसँग आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा अन्यौन्याश्रित सम्बन्ध रहिआएको ऐतिहासिक तथ्यलाई ध्यानमा राखेर तत्काल कुटनीतिक पहल गर्न सकिएन भने यसले २ देशबीचको सम्बन्धमा थप नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला वार्ताको एजेण्डा बनाउन समेत सम्माननीय प्रधानमन्त्री ज्यूसँग माग गर्दछौं ।

हाम्रा मागहरू :
१. भारतीय सुरक्षाकर्मीले भत्काएको पुनर्वास नगरपालिका वडा नं. ९ बीचफाँटा क्षेत्रमा तत्काल सीमा सर्भे टोली खटाएर ७ दिनभित्र तारबार गर्ने व्यवस्था मिलाउन कुटनीतिक पहल गरियोस् ।
२. कैलाली र कञ्चनपुरमा सीमा सर्भे गर्न खटिएको टोलीको म्याद सकिनै लागेकाले त्यसको म्याद तत्काल थप गरियोस् ।
३. बढी सीमा विवाद उत्पन्न हुने कञ्चनपुरको दक्षिणी सीमा र ७ नम्बर प्रदेशका जिल्लाको भारतसँग जोडिएको सम्पूर्ण सीमाको तत्काल वैज्ञानिक सर्भे कार्य अगाडि बढाएर सीमा निर्धारण गर्ने कार्य पूरा गरियोस् ।
४. सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल, स्थानीय जमिन्दार, भन्सार नाकामा सुरक्षाकर्मीबाट र अन्य तहबाट हुने ज्यादती, अतिक्रमण र हिंसाविरुद्ध सरकारले तत्काल पहलकदमी गर्दै जनताको ज्यूधनको सुरक्षाका लागि कुटनीतिक पहल गरियोस् ।
५. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका अवसरमा सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा एजेण्डा नै तय गरी चासो व्यक्त गरियोस् ।

मा. लेखराज भट्ट,
प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा प्रदेश इन्चार्ज
नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश कमिटी

मा. बिना मगर,
खानेपानी मन्त्री, नेपाल सरकार

मा. झपट बोहरा,
आर्थिक मामिला मन्त्री, ७ नम्बर प्रदेश

मा. डा. दिपकप्रकाश भट्ट,
प्रतिनिधिसभा सदस्य

मा. नरबहादुर धामी,
प्रतिनिधिसभा सदस्य

मा. निरुदेवी पाल,
प्रतिनिधिसभा सदस्य

मा. निरा जैरु
प्रतिनिधिसभा सदस्य

मा. महेशकुमार महरा
राष्ट्रियसभा सदस्य

मा. हरिराम चौधरी
राष्ट्रियसभा सदस्य

देवीलाल चौधरी
पूर्वसभासद्, संविधानसभा

नरेन्द्र कुँवर
पूर्वसभासद्, संविधानसभा

नारायणप्रसाद जैशी,
वडा अध्यक्ष, पुनर्वास नगरपालिका वडा नं. ९, कञ्चनपुर

बोधार्थ :
क) परराष्ट्र मन्त्रालय
ख) गृह मन्त्रालय

Loading...