डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं, २१ बैसाख ।

तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो ।

भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् ।

जसअनुसार आगामी एक वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गर्ने र त्यसपछि नाका सञ्चालनमा ल्याउने गरी काम अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिए ।

‘तातोपानी नाकामा निर्माण भइरहेको सुक्खा बन्दरगाह एक वर्षभित्र तयार भइसक्नेछ,’ उनले भने, ‘त्यसपछि बन्दरगाह हस्तान्तरण हुन्छ र नाका पनि सञ्चालनमा आउँछ ।’

वर्ष दिनमै सुक्खा बन्दरगाह तयार

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग रहेको तातोपानी सुक्खा बन्दरगाह आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्न बिहीबार सम्झौता भएको छ ।

सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ सरकारको पक्षबाट वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक साझेदार एजेन्सीका आर्थिक तथा व्यापारिक काउन्सेलर झाङ फानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आगामी ३० अप्रिल २०१९ अगावै बन्दरगाह निर्माण सम्पन्न गर्ने र २० मे २०१९ अघि नै नेपाललाई हस्तान्तरण गरिनेछ । सुक्खा बन्दरगाह निर्माणकार्य बिहीबारदेखि नै अघि बढिसकेको छ ।

‘सुक्खा बन्दरगाह निर्माणले गति लिनुको अर्थ नाका पुनः सञ्चालन हुन्छ भन्ने नै हो,’ उनले भने, ‘ढिलोमा आगामी एक वर्षभित्र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।’

अढाई अर्ब लागतको बन्दरगाह

सन् २०१० मै तातोपानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो । तर, निर्माण भने २०१३ मा सुरु भएको थियो । निर्माणको झन्डै ७० प्रतिशत काम सकिनै लाग्दा विनाशकारी भूकम्प आयो र परियोजना अघि बढ्न सकेन ।

भूकम्प गएको एक वर्षपछि १८ चैत ०७३ मा सुक्खा बन्दरगाह पुनः निर्माण गर्ने सम्बन्धमा नेपाल र चीनबीच सहमति भएको थियो । उक्त सहमतिका माइन्युटमा सुक्खा बन्दरगाह आयोजनालाई निरन्तरता दिन आकस्मिक उद्धार परियोजना, भौगर्भिक क्षति व्यवस्थापन परियोजना र निर्माण निरन्तरता गरी तीन भागमा विभाजन गरिएको थियो ।

त्यसअनुसार आकस्मिक उद्धार परियोजना भदौ ०७४ मा सम्पन्न भएको हो । त्यस्तै, भौगर्भिक क्षति व्यवस्थापन र निर्माण निरन्तरता अघि बढाउन गत चैतमा अर्थ मन्त्रालय र चिनियाँ सरकारी निकायबीच सहमति भयो ।

सहमतिअनुसार नै चिनियाँ पक्षले तातोपानी सुक्खा बन्दरगाह कार्य अघि बढाउन चीन रेल्वे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडलाई मुख्य ठेकेदार तोकेर बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्युट ग्रुप कम्पनी लिमिटेड र सेन्याङ सुपरभिजन एन्ड कन्सल्टेन्सन कम्पनीलाई आयोजनाको व्यवस्थापकका रूपमा छनोट गरिसकेको छ ।

यस परियोजनाको कुल लागत १४ करोड ७० लाख चिनियाँ युआन अर्थात् करिब २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यसमध्ये करिब डेढ अर्ब रुपैयाँ खर्चसमेत भइसकेको छ ।

कस्तो बन्छ बन्दरगाह ?

अहिले नयाँ डिजाइन तयार गरेर सुक्खा बन्दरगाह निर्माण अघि बढेको छ । तातोपानी सुक्खा बन्दरगाहको कुल क्षेत्रफल ४.२ हेक्टर रहेको छ । बन्दरगाहमा ठूला १ सय ५८ र साना २३ गरी कुल १ सय ८१ वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ ।

बाढी–पहिरोलगायत सम्भावित प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कुल लगानीको झन्डै ४० प्रतिशत रकम सुरक्षाका लागि खर्च गरिएको बस्नेतले बताए । बन्दरगाहमा प्रशासनिक भवन, भन्सार जाँचपास यार्ड, विद्युत् सबस्टेसन, आगलागी नियन्त्रण तथा अलार्म प्रणालीलगायत सुविधा रहेका छन् ।

तातोपानी नाका प्राथमिकतामा : मातृका यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनका लागि नेपालले चीनसमक्ष ताकेता गर्दै आएको थियो । चीनले पनि पूर्वाधार निर्माण गरे नाका पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएकै हो ।

अन्ततः अब पूर्वाधार निर्माणले गति लिने भएको छ । सुक्खा बन्दरगाह निर्माण एक वर्षमा सकिनेछ र चीनले नेपाललाई हस्तान्तरण गर्नेछ । अनि नाका पनि सञ्चालनमा आउनेछ । नया पत्रिका दैनिकमा खबर छ ।

Loading...