देशैभर सार्वजनिक यातायात ठप्प, ट्याक्सी र ई–रिक्साको यस्तो मनपरि, यात्रु अलपत्र

काठमाडौं, २१ बैसाख ।

सिण्डिकेटधारी यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनका कारण काठमाडौं लगायत देशभारको जनजीवन प्रभावित बनेको छ ।  शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ/समितिहरुले बस/जीप चलाएका छैनन् ।

बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन छैन ।

सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले समेत आन्दोलनलाई निरन्तरता दिने पश्चिम नेपाल वस व्यवसायी समितका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताउँछन्

पाल्पाको श्रीनगर बस समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला-जिल्लामा चलाइरहेका थिए ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् ।

धनगढीमा पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ । पश्चिमदेखि पूर्वसम्मका शहरहरुमा सिण्डिकेटका पक्षधरहरुको बन्दको प्रभाव परेको छ ।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।

 ट्याक्सी र ई–रिक्साको मनपरि 

यातायात व्यवसायीले सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्क्याउने निर्णय गरपछि काठमाडौं भाडाका ट्याक्सीहरुले भने मनपरी थालेका छन् । उनीहरुले १ सय रुपैयाँ लाग्ने बाटोमा यात्रुहरुलाई एक हजाररुपैयाँसम्म शुल्क लिएर ठग्न थालेको यात्रुहरुको गुनासो छ ।

काठमाडौंबा ट्याक्सीहरुले मिटरमा यात्रु बोक्न छाडेको धेरै समय भइसकेको छ ।   व्ययवसायीले भाडाका सवारी बन्द गरेपछि काठमाडौंमा शुक्रबार बिहानैदेखि ट्याक्सीवालाहरुको ठगी धन्दा मौलाएको छ । यात्रुहरु अन्य विबल्प नभएकाले तेब्बर चौबर पैसा तिरेर हिँड्न बाध्य छन् ।

यहि मौकामा उता काठमाडौं बाहिर भने ई–रिक्साको ठगीधन्दा मौलाएको छ । सडकमा ई–रिक्साको राज चलेको छ, जहाँ सरकारको कुनै नीति नियम छैन, निजी सवारीको मनपरी छ ।

राजधानीमा जस्तै तराईका जिल्लाका यात्रुहरु ई–रिक्सामा महंगो भाडा तिरेर यात्रा गर्न वाध्य भएका छन् ।

Loading...