शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

काठमाडौं, २० बैसाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् ।

माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायतका विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले भने ।

बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै नेता गणेश शाहले सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताए । ‘पार्टी एकता भएपछि एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन,’ शाहले भने, ‘सम्मानजनक न्यायोचित र समानताका आधारमा एकता हुन्छ ।’ एकताका लागि धेरै विषय मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए । ‘पार्टी एकताको मिति छिट्टै घोषणा हुँदै छ ।’प्रचण्डको भनाइ उल्लेख गर्दै शाहले भने, ‘म केन्द्रीय समितिमा परिनँ, म पोलिटब्युरोमा परिनँ, म स्थायी कमिटीमा परिनँ भनेर दुखेसो नगर्नुहोला । एकता गरेर समाजवादी क्रान्ति गर्नुपर्ने भएकाले केही विषयमा कम्प्रोमाइज गर्नु पनि पर्छ ।’

Loading...