संस्कृतिकर्मी गिरफ्तारीको महासंघद्धारा विरोध, तत्काल रिहा गर्न चेतावनी (विज्ञप्ती सहित)

कपिलवस्तु, १९ बैसाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुरमा हजारौं जनताको अपार सहभागितामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएर एकाएक हस्तक्षेप गरी महासंघ कपिलवस्तुका अध्यक्ष एवं कलाकार देवराज भरलाई गिरफ्तार गरेको छ । गिरफ्तारी विरुद्ध महासंघ लुम्बिनी व्युरोले एक प्रेश विज्ञप्ती जारी गर्दै महासंघ कपिलवस्तुका अध्यक्ष तथा कलाकार देवराज भरलाई तत्काल रिहाईको माग गरेको छ ।

महासंघका व्युरो संयोजक खोमा तरामु मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम र कलाकारहरुमाथि गरिएको हस्तक्षेप, कायरतापूर्ण गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।

महासंघ लुम्बिनी व्युरोले गिरफ्तार गरिएका कलाकार देवराज भरलाई तत्काल रिहाई नगरे शसक्त संघर्ष गर्ने बताएको छ । कलाकार देवराज भरसंगै नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवं जनसरकार प्रमुख शम्भुलाई पनि गिरफ्तार गरेको नेकपा कपिलवस्तुले बताएको छ । नेकपा कपिलवस्तुका सेक्रेटरी सुनिलले प्रेश विज्ञप्ती प्रकाशित गर्दै गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि हजारौंको संख्यामा रहेका जनताले हस्तक्षेप विरुद्ध प्रतिरोध गरेका थिए । कलाकार तथा जनतामाथि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीय जनताले प्रतिरोध गर्दा प्रहरीहरु घाइते समेत भएको बताइएको छ ।

Loading...