बैंग्लोरसँग हार्‍यो मुम्बई, प्लेअफबाट बाहिरिने लगभग पक्का

काठमाडौं, १९ वैशाख ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ ।

यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ ।

१६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका लागि हार्दिक पान्ड्याले सबैभन्दा धेरै ५० रन बनाए । क्रुणाल पान्ड्या र जेपी डुमिनीले समान २३ रन बनाए भने किरोन पोलार्डले १३ तथा बेन कटिङले १२ रन बनाए । बैंग्लोरका लागि टिम साउथीले चार ओभरमा २५ रन दिएर २ विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।

यसैगरी उमेश यादवले लगातार दुई विकेट झारे । उनले सूर्यकुमार यादवलाई ९ रनमा एलबीडब्लुको धरापमा पारे भने कप्तान रोहित शर्मालाई खाता खोल्न नदिई पभेलियन फर्काए । उमेशले चार ओभरमा २९ रन खर्चिएर दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । मनन बोहराले सर्वाधिक ४५ रनको पारी खेले । ब्रेन्डन म्याकुलमले ३७ र कप्तान बिराट कोहलीले ३२ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बई इन्डियन्सका हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए । उनले तीन ओभरमा २८ रन मात्र खर्चिएका थिए ।

Loading...