ओली सरकारको ज्यादतीबिरुद्ध गर्जिए विप्लव, गरे चरणबद्ध संघर्षको घोषणा (हेर्नुहोस् विज्ञप्तिसहीत )

दिया चन्द, काठमाडौं ।

प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेताकार्यकर्तामाथि व्यापक दमन गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले त्यसको कडा शब्दमा निन्दा गरेका छन् ।

नेकपा नेता कार्यकर्ताहरुमाथि सरकारले देशव्यापीरुपमा धरपकड, दमन र गिरफ्तारीलाई बढाएपछि महासचिव विप्लवले बिरोध जनाएका हुन् ।

उनले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गर्दै आएको पीके गठबन्धन सरकार नेकपा र उसका समर्थनकर्ताहरुको लागि भने दिनदिनै फासिस्ट बन्दै गइरहेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भने भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।

महासचिव विप्लवले केपी सरकार बनेदेखि आफ्नो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन भइरहेकाे प्रष्ट पारेका छन् ।  ‘भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको छ । देशमा राष्ट्रघात भैराखेको छ । गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार एक शब्द बोल्दैन ।’  महासचिव विप्लवले भनेका छन्- ‘केपी सरकार बनेदेखि संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको छ ।’

उनले नेकपा केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्रा उपाध्याय, जिल्लाका प्रमुखहरु मात्र नभई पढाइरहेका शिक्षकहरुलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् ।

‘हाम्रो पार्टीका केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्रा उपाध्याय, जिल्लाका प्रमुखहरु, यहाँसम्म कि पढाइरहेका शिक्षकहरुलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको छ । उनले विज्ञप्तिमा अगाडी भनेका छन्- ‘राज्यको यी हर्कतहरुका विरुद्ध हाम्रा लागि प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले यही वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ । विगतमा जस्तै यस पटकको बन्दमा पनि सबै न्याय प्रेमी, देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिहरुमा सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।”

साथै उक्त बक्तव्यमा वैशाख १९ गते देशैभरी प्रदर्शन, वैशाख २० गते कोण सभाहरु, वैशाख २१ गते साँझ साल जुलुस र वैशाख २२ गते नेपाल बन्द सहितको कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

ओली नेतृत्वमा सरकार गठन भएलगत्तै नेकपामाथि व्यापक दमन बढेपछि लामो समयपछि महासचिव विप्लवले यस्ता संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । देशमा फरक सत्ताको अभ्यास गरिरहेका नेकपाले दलाली, घुसखोर, कमिसनखोर र बलात्कारजस्ता घटनामा संग्लनहरुमाथि कारवाही समेत गर्दै आएको छ ।

हेर्नुहोस् बिज्ञप्ति

Loading...