नेकपामाथि ब्यापक दमनमा उत्रियो ओली सरकार, २ सेक्रेटरीसहित एकैदिन आधा दर्जन नेता गिरफ्तार

बिनिता सिंह, काठमाडौं ।

देशमा फरक सत्ताको अभ्यास गरिरहेका नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली सरकारले धरपकड र गिरफ्तारी व्यापक बनाएको छ । बुधबार मात्रै प्रहरीले नेकपाका २ सेक्रेटरीसहित आधा दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ ।

पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक कामका सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिएका नेता कार्यकर्ताहरुमाथि प्रहरीले निगरानी बढाएर गिरफ्तार गर्न थालेको सो पार्टीले जनाएको छ ।

बुधबार नेकपा ललितपुर जिल्ल्ला सेक्रेटरी विपिनलाई झरुवारासीबाट प्रहरीले गिरफ्तार गरेको छ । उनलाई किन गिरफ्तार गरियो भन्नेबारेमा कुनै जानकारी दिइएको छैन ।

बुधबार विहान ९ बजे सांगठनिक कामको सिलसिलामा हिड्दै गर्दा उनलाई गिरफ्तार गरिएको पारिवारिक स्रोतले इमान्दार मिडियालाई बतायो । त्यस्तै नेकपा ललितपुरका जिल्लास्तरीय नेता मोहन सिवाकोटीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उता नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरलाई पनि बुधबार नै प्रहरीले गिरफ्तार गरेको छ ।

यता काठमाडौंको बागबजारबाट नेकपानिकट अखिल (क्रान्तिकारी)का महसचिव प्रकाश शाहीसहित ३ जना विद्यार्थी नेताहरुलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको सिलसिलामा रहेका महासचिव शाहीसँगै ललित बिक र रबिन केसीलाई अपहरण शैलीमा गिरफ्तार गरेको क्रान्तिकारीले इमान्दार मिडियालाई बतायो ।

पछिल्लोसमय प्रचण्ड गठबन्धनको ओली सरकारले नेकपामाथि चरम दमन गर्ने रणनीति लिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल निरंकुश शैलीमा धरपकडमा उत्रिएका छन् । बादल गृहमन्त्री बनेकै दिन नेकपाको युवादस्ताले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमाथि नै हस्तक्षेप गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

त्यस यता मात्रै नेकपाका दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका शुभचिन्तक र समर्थक जनतालाई समेत नछाड्नु भन्दै सरकारको नेतृत्वकर्ता ओली प्रचण्डले भित्र भित्रै कडा निर्देशन दिएको समेत केहि समय अगाडी खुलासा भएको थियो ।

२०७५ बैसाख १२ गते प्रकाशित ।

Loading...