विश्वभरका नेपाली भाषी साहित्यकारलार्इ अस्ट्रेलियामा निम्तो

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाकाे पर्थ सहरमा

टाेकियाे । प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस वर्ष अस्ट्रेलियामा हुने भएकाे छ । अस्ट्रेलियाकाे पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिखमा सम्मेलन आयोजना गरिएकाे छ ।

पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा नेपाली समुदायकाे अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हुने बताइएकाे छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (पर्थ-डब्लु ए) शाखाको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपालका साथै विश्वभरिबाट साहित्यकार तथा लेखकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल लगायत संसारभरका नेपाली भाषा तथा साहित्यप्रेमीहरुलार्इ सुन्दर नगरी पर्थमा ल्याउने कार्यक्रमका संयोजक तथा च्याप्टरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार डायस्पोरामा रहेको नेपाली साहित्यलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा सम्मेलनमा छलफल हुनेछ ।

यस प्रकारका सम्मेलनबाट नेपाली साहित्यको परिचय र विकास विश्वका अन्य भाषिक साहित्यको दाँजोमा पुर्याउनमा थप बल पुग्ने अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताए । अहिले कार्यक्रमको पूर्व तयारीका लागि विभिन्न समितिहरूको निर्माण गरी आवश्यक पूर्वाधार तयार गर्न काम भइरहेको जानकारी केन्द्रीय सचिव समेत रहेका कार्यक्रम सन्योजक घिमिरेले जानकारी दिए । कार्यक्रमलाई सभ्य र भव्य रूपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने मूल आयोजक समितिका सह-संयोजक निरज क्षेत्रीले बताए ।

संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण बारेमा छलफल हुने बताए | उनले यस सम्मेलन मार्फत विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुलाई एकै ठाउँमा जोड्ने दाबी गरे ।

कार्यक्रम तयारी र आवश्यक व्यवस्थापनका लागि केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा संस्थाका वरिस्ठ उपाध्यक्ष राधेश्याम लेकाली, सचिव गणेश घिमिरे र ओसियाना उपाध्यक्ष भीमसेन सापकोटा समेत रहेकाे उच्चस्तरीय निर्देशक समिति गठन गरिएकाे छ । साे समितिले अाफ्ना काम अगाडि बढाइसकेकाे जानकारी दिइएकाे छ । कार्यक्रमलाई व्यवस्थित पार्नको निम्ति बिभिन्न उपसमितिहरु पनि गठन भएका छन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यसअघि २०१५ मा उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ को संयाेजकत्त्वमा चौथो सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो | संसारभरका ४० वटा भन्दा बढी देशमा झन्डै ९० को हाराहारीमा च्याप्टरहरु स्थापना गरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्ष्ण र प्रबर्द्दन गर्ने यो संस्था नै सबै भन्दा ठूलो संस्थाको रूपमा उभिएकाे छ ।

Loading...